काठमाडौं । चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था गरिएको नयाँ ऐन मार्फत सरकारले यातायात मजदुर, स्वरोजगार व्यवसायीलाई विस्थापित गर्ने खतरा बढाएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले तत्काल ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ ।
बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाण्डौं उपत्यका बुकिङ कमिटी दोस्रो अधिवेशन उद्घाटन गर्दै संगठनको अध्यक्ष भीमज्वाला राईले यस्तो कुरा बताउनु भएको हो । राईका अनुसार नयाँ कानुनले सडक सुरक्षालाई प्रवद्र्धन गर्नु आवश्यक भए पनि सजायमुखी व्यवस्थालाई मात्र प्राथमिकता दिँदा देशका १३ लाख यातायात मजदुर, स्वरोजगार र व्यवसयाीको पेशामा प्रत्यक्ष असर पर्ने बताउनु भयो । राईको भनाइमा ५ सयदेखि एक लाख रुपैयाँसम्मको जरिवाना असहनीय हुने मात्र होइन, जेल सजायको व्यवस्थाले उनीहरूको परिवारसमेत संकटमा पर्ने अवस्था सिर्जना हुने कुरा बताउनुभयो ।
सार्वजनिक यातायात क्षेत्रमा यातायात मजदुरहरु र साना लगानीका स्वरोजगारमा आधारित वर्गको उल्लेख उपस्थिति रहेकाले कानुनमा हुने यस्ता कठोर दण्डात्मक व्यवस्थाले मजदुर विस्थापित हुने र व्यवसाय बन्द हुने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि राईले दुर्घटना न्यूनीकरणका लागि चालकको क्षमता विकास, नियमित तालिम, सुरक्षित सडक पूर्वाधार, प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारीको प्राविधिक परीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ । अध्यक्ष राईका अनुसार दण्ड मात्र बढाएर सडक सुरक्षा सुनिश्चित गर्न सकिँदैनस त्यसका लागि सुधारात्मक र निवारणमुखी नीति आवश्यक हुन्छ ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले यातायात मजदुर तथा व्यवसायीका प्रतिनिधिहरु सहितका सरोकारवालासँग छलफल गरेर बन्ने कानुनलाई व्यावहारिक, न्यायोचित र श्रम र लगानीमैत्री बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
त्यसैगरी संगठनका केन्द्रीय उपाध्यक्ष तथा बागमती इन्चार्ज नवराज घिमिरेले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने उद्देश्यमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रमिक र स्वरोजगार व्यवसायीको अस्तित्व नै संकटमा पार्ने प्रावधानहरू पुनर्विचार गर्न सरकारसंग आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव देविन श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका बागमती अध्यक्ष बेदप्रसाद घिमिरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता घनेन्द्र विष्ट र सञ्चालन सचिव पवन धरेलले गर्नुभएको थियो । अधिवेशनले लोकनाथ सुवेदी ९प्रकाश०को अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा खड्गबहादुर मगर ९मिलन०, सचिवमा पवन धरेल, सहसचिव सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा सुवास बराल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा कर्म वाइबा, रमेश श्रेष्ठ, विष्णु खड्का, संग्राम लामा, बालमुकुन्द घिमिरे रहनु भएको छ । सल्लाहकारहरुमा देविन श्रेष्ठ, भर्जमान राई, रमेश खड्का र राजेन्द्र थोकर रहनु भएको छ ।

