दार्चुला — भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज (बुधबार) बिहान ६ बजेदेखि खोलिएको छ। भारतको एनएचपिसी लिमिटेड अन्तर्गत सञ्चालित धौलीगङ्गा पावर स्टेसन, धारचुलाले सिल्ट सफाइका लागि आज बिहान ६ बजेदेखि बिहीबार अपराह्न ६ बजेसम्म बाँधका ढोका खोलिएको जनाएको छ।
बाँध खोलिएसँगै महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले दार्चुला तथा बैतडीका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले सिल्ट सफाइका क्रममा नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।
यस्तै, जिल्ला प्रशासन कार्यालय बैतडीले पनि विज्ञप्ति जारी गर्दै महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई पूर्वतयारी अवस्थामा रहन र आवश्यक सतर्कता अपनाउन निर्देशन दिइएको प्रशासनले जनाएको छ।

