धनगढी: संस्कृति संरक्षण, व्यंग्यमार्फत सामाजिक चेतना अभिवृद्धि तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित बैजनाथ सञ्चार प्रालिले ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना गर्ने भएको छ। आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक घोषणा गरेको हो।
आयोजकका अनुसार कार्यक्रम आगामी भदौ १७ गते धनगढीस्थित एसटीएस सिनेमा हल मा आयोजना हुनेछ। कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय हास्यव्यंग्य कलाकार मनोज गजुरेल को विशेष प्रस्तुति रहनेछ। साथै, सुदूरपश्चिमका स्थानीय कलाकारहरूलाई पनि आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा हास्यव्यंग्य नाटक, प्रहसन, गीत–संगीत, सांस्कृतिक प्रस्तुति तथा समसामयिक विषयमा आधारित व्यंग्य प्रस्तुति समावेश गरिनेछ। समाजमा रहेका विकृति–विसंगति, भ्रष्टाचार, सामाजिक असमानता, महिला हिंसा, बाल अधिकार, युवा पलायन लगायतका विषयलाई हास्यव्यंग्यमार्फत दर्शकमाझ प्रस्तुत गरिने कार्यक्रम संयोजक सरस्वती कुमारी खड्का भट्टले जानकारी दिइन् ।
बैजनाथ सञ्चार प्रालिले सुदूरपश्चिमको मौलिक कला, भाषा, संस्कृति र कलाकारलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ। यसअघि सम्पन्न पहिलो संस्करणले पनि राम्रो प्रतिक्रिया पाएको आयोजकको दाबी छ।
कार्यक्रमको प्रवेश शुल्क रु १,००० निर्धारण गरिएको छ। विद्यार्थीहरूका लागि टिकटमा १० प्रतिशत छुट व्यवस्था गरिएको कार्यक्रमका आर्थिक संयोजक शुभेष पाठकले जानकारी दिए । आयोजकका अनुसार सुदूरपश्चिमका कलाकारलाई सम्मान र प्रोत्साहन गर्दै प्रदेशको सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा ठूलो संख्यामा दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।

