धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आइतबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ। स्वच्छ वातावरण, स्वस्थ नागरिक हाम्रो साझा जिम्मेवारीू भन्ने नारासहित आयोजित कार्यक्रममा विश्वविद्यालय परिसरमा फैलिएका झारपात हटाउने तथा वातावरण सफा बनाउने कार्य गरिएको हो।
एमबिबिएससहित चिकित्सा शिक्षा सञ्चालनको तयारी भइरहेका बेला विश्वविद्यालय प्रशासनले परिसरलाई व्यवस्थित र स्वच्छ बनाउन खुला रूपमा सरसफाइ अभियानमा सहभागिताका लागि आह्वान गरेको थियो। यसअघि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तह, विद्यार्थी, युवा संगठन तथा स्थानीय समुदायले पनि विश्वविद्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिसकेका छन्। सोही अभियानलाई निरन्तरता दिँदै आइतबार कृष्णपुर नगरपालिकाको टोलीले सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक–विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सरसफाइलाई एकदिने अभियानमा सीमित नराखी दैनिक जीवनको संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। सहभागी विद्यार्थीहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमको गौरवको आयोजना भएकाले यहाँ यथाशीघ्र एमबिबिएससहित चिकित्सा शिक्षा सञ्चालन हुनुपर्ने मागसमेत गरेका छन्। साथै सार्वजनिक स्थानमा जथाभावी फोहोर नगर्न, वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न र विश्वविद्यालयलाई स्वच्छ तथा व्यवस्थित बनाउन सबै नागरिकको साझा दायित्व रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले यस्ता अभियानले वातावरण संरक्षण, जनस्वास्थ्य प्रवर्द्धन र सरसफाइप्रतिको नागरिक चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे। अर्बौं रुपैयाँको लगानीमा विश्वविद्यालयका संरचना निर्माण भए पनि अझै चिकित्सा शिक्षा सञ्चालन हुन नसकेको उल्लेख गर्दै उनले नयाँ पदाधिकारी नियुक्तिपछि विश्वविद्यालय सञ्चालनप्रति सकारात्मक आशा पलाएको बताए।
नगरप्रमुख ओझाले कुनै अवरोध सिर्जना नगरी विश्वविद्यालयअन्तर्गत ३०० शय्याको शिक्षण अस्पताल शीघ्र सञ्चालनमा ल्याइनुपर्ने धारणा पनि राखे। उनका अनुसार यसले सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ। यसैबीच, विश्वविद्यालय सञ्चालनको विषयलाई लिएर डा। गोविन्द केसीको सत्याग्रहप्रति पनि स्थानीय स्तरमा विभिन्न धारणा सार्वजनिक भइरहेका छन्। डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित विवादित नियुक्ति खारेज, कानुनी व्यवस्था संशोधनलगायतका माग राख्दै २४औँ सत्याग्रह जारी राखेका छन्। विश्वविद्यालयसम्बन्धी विषयमा संघीय सरकार र सम्बन्धित पक्षबीच छलफल भइरहेको छ।

