धनगढी: शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले अनशनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद गरेका छन् । शिक्षामन्त्री सस्मित पोखरेलसँगको समन्वयमा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी शनिबार धनगढी पुगेका थिए ।
सचिव पौडेलले आजै उपचाररत डा. केसीलाई सेती प्रादेशिक अस्पतालमा पुगेर भेट गरेका थिए । त्यस क्रममा डा. केसी र उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए ।
शनिबार डा. केसी र उनका सहयोगीसँग संवाद भएको छ । उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ । आइतबार प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव यहाँ आएपछि औपचारिक संवाद गरी सहमतिको प्रयास हुनेछ,’ सचिव पौडेलले भने ।
सरकारले संवाद र सहमतिका माध्यमबाट डा. केसीले उठाएका विषयको यथाशीघ्र सम्मानजनक र सहमतिपूर्ण समाधान खोज्ने उनको भनाइ थियो ।
डा. केसी विभिन्न पाँचबुँदे माग राख्दै तीन दिनदेखि अनशनमा छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट आजै उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डा. केसीसँग आज सचिव पौडेलसहित सामान्य संवाद तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको बताए ।

