धनगढी । नेकपा एमाले र नेकपाबीच ३ बुँदे सहमति भएको छ।
प्रदेश सरकार सञ्चालनबारे एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको हो।
सहमति पत्रअनुसार दुई दलले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्। सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ।
त्यस्तै, मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ।
सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।

