डोटी: डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको जोरायल गाउँपालिका–२, मिलचौराहा निवासी अन्दाजी ४१ वर्षीय डम्बरबहादुर गुरुङ बिहीबार बिहान घर नजिकै सडक किनारमा मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं डीएसपी रणबहादुर चन्दका अनुसार बिहीबार बिहान करिब ६ बजे स्थानीयले गैरी खोला नजिक भीमदत्त राजमार्गको सडक किनारमा गुरुङको शव देखेपछि इलाका प्रहरी कार्यालय बुडरलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा ६ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

