कंचनपुर: पश्चिम नेपाल तराईको सीमावर्ती जिल्ला कञ्चनपुरमा परम्परागत प्रकृतिका अपराधका घटना घट्दै गए पनि आधुनिक प्रकृतिका अपराध बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकले हत्या, हिंसा, बलात्कार, घरेलु हिंसा, लैंगिक हिंसा तथा सार्वजनिक अपराधका घटना घट्दो क्रममा रहेको, तर लागुऔषधको अवैध कारोबार, अनलाइन ठगी, राजस्व चुहावटलगायत आधुनिक अपराध बढिरहेको देखाएको हो।
प्रहरीका अनुसार गत आर्थिक वर्ष ०८२/८३ मा जघन्य तथा गम्भीर अपराधतर्फ कर्तव्य ज्यानका पाँच, हातहतियारका एक, मानव बेचबिखनका तीन, जुवातासका २६, ठगीका २६, मुद्रासम्बन्धी दुई, बैंकिङ कसुरका ८६ र ज्येष्ठ नागरिकसम्बन्धी ८४ गरी कुल २३३ मुद्दा दर्ता भएका थिए। यस्तै ज्यानसम्बन्धी १११, आत्महत्या १३८, चोरी ८३, संगठित अपराध ४०२, सामाजिक अपराध १७९, महिला तथा बालबालिकासम्बन्धी अपराध ८४, सवारी ज्यान ३१ र अन्य ६३ गरी कुल १,०९१ मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको थियो।
गत आर्थिक वर्षमा ३५८ घरेलु हिंसाका उजुरीमध्ये २९९ वटा मिलापत्र गरिएका थिए भने ५९ वटा अदालत पठाइएको थियो। त्यस्तै, १०० लैंगिक हिंसाका उजुरीमध्ये ८६ वटा मिलापत्र गरिएका र १४ वटा सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। सोही अवधिमा १३८ आत्महत्याका घटना पनि दर्ता भएका छन्। पछिल्ला दिनमा अनलाइन तथा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना उल्लेख्य रूपमा बढिरहेका छन्। प्रहरीका अनुसार अनलाइन ठगीसम्बन्धी तीन सय निवेदन प्राप्त भएकामध्ये नौवटा मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको छ। ती निवेदनमा पीडितहरूबाट तीन करोड ५६ लाख ९३ हजार २०१ रुपैयाँ ठगी भएको उल्लेख छ।
त्यसमध्ये एक करोड एक लाख ८१ हजार ४१५ रुपैयाँ पीडितलाई फिर्ता गराइएको छ। २९१ निवेदनमध्ये २८६ वटा फर्स्योट तथा मिलापत्र गराई ५६ लाख ७३ हजार ११२ रुपैयाँ फिर्ता गराइएको थियो। दर्ता भएका नौ मुद्दामध्ये ६ वटा फर्स्योट भई ४५ लाख आठ हजार ३०३ रुपैयाँ पीडितले फिर्ता पाएका छन्। सामाजिक सञ्जालमार्फत अपमान, गालीबेइज्जतीलगायतका विषयमा १८१ निवेदन तथा मुद्दा दर्ता भएका थिए। तीमध्ये १६८ निवेदन पूर्ण रूपमा फर्स्योट भएका छन् भने १३ मुद्दामध्ये ११ वटा फर्स्योट भई दुईवटा बाँकी रहेका छन्।
गत आर्थिक वर्षमा विभिन्न मुद्दाका एक अवार १६६ फरार अभियुक्त पक्राउ परेका छन्। सार्वजनिक चासोका ६३५ पेन्डिङ मुद्दामध्ये २५३ वटा फर्स्योट गरिएको छ। प्रहरीले अदालतबाट ३११ वर्ष चार महिना १४ दिन कैद तथा दुई करोड ४५ लाख ३१ हजार ९३७ रुपैयाँ जरिवाना फैसला भएका ५६२ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेस गरेको जनाएको छ। यस्तै, एक वर्षको अवधिमा हराएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक गरी ४८६ जनामध्ये ४८५ जनालाई फेला पारी सम्बन्धित परिवारको जिम्मा लगाइएको थियो। प्रहरी कार्यालयमा परेको तीन हजार ८७९ ठाडो उजुरी सबै फर्स्योट गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रराज गिरीले पछिल्ला वर्षहरूमा परम्परागत अपराधको तुलनामा आधुनिक अपराधका घटना बढ्दै गएको बताए। उनले उपलब्ध मानवीय तथा भौतिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको बताए। एसपी गिरीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक प्रहरीमाथि सयौँ नागरिकको सुरक्षा गर्ने जिम्मेवारी रहेकाले चुनौती थपिएको छ। विशेषगरी लागुऔषधसम्बन्धी मुद्दा बढेसँगै प्रहरी हिरासतदेखि कारागारसम्म लागुऔषध मुद्दाका थुनुवा र अभियुक्तको संख्या धेरै रहेको उनले बताए।
उनले सामाजिक सञ्जालको निगरानी तथा नियमन भइरहेको जानकारी दिँदै पर्याप्त स्रोतसाधनको अभावका कारण अनलाइन ठगी तथा विद्युतीय अपराध अनुसन्धानमा चुनौती रहेको बताए। प्रहरीलाई समयसापेक्ष प्रविधिमैत्री बनाउन आवश्यक रहेको उनको भनाइ छ। अपराध नियन्त्रणका लागि जिल्लाभर विभिन्न कारबाहीसँगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको उनले जानकारी दिए।

