धनगढी: कैलालीमा यस वर्ष धान रोपाइँ लगभग सम्पन्न भइसकेको छ। अहिले धानको राम्रो वृद्धि र उत्पादनका लागि डिएपी मल हाल्ने उपयुक्त समय भए पनि जिल्लाभर पर्याप्त मल उपलब्ध नहुँदा किसान चिन्तित बनेका छन्। रोपाइँ सुरु भएदेखि नै रासायनिक मलको अभाव झेल्दै आएका किसानले अहिले डिएपी मलसमेत सहज रूपमा नपाउँदा खेती प्रभावित हुने अवस्था सिर्जना भएको बताएका छन्।
जिल्लाका विभिन्न सहकारी संस्था र बिक्री केन्द्रमा किसानको भीड लागे पनि मागअनुसार डिएपी मल उपलब्ध हुन सकेको छैन। धेरै किसानले दिनभर लाइन बसेपछि पनि थोरै मात्रामा मल पाउने वा रित्तै फर्किनुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। यसअघि युरिया मलको अभावका कारण धेरै किसानले मल नहालेरै धान रोप्न बाध्य भएका थिए। अहिले डिएपी मल हाल्ने बेला पनि उस्तै समस्या दोहोरिएपछि किसान थप निराश बनेका छन्। विगतका वर्षहरूमा भारतबाट मल ल्याएर खेती गर्ने किसानलाई यस वर्ष त्यहाँबाट पनि मल ल्याउन कठिन भएको छ।
धनगढी उपमहानगरपालिका–७ मनेहराका किसान बेसन चौधरी ले यस वर्ष भारतबाट समेत सहज रूपमा मल ल्याउन नसकिएको बताए। उनका अनुसार पहिले भारतबाट तुलनात्मक रूपमा सस्तो मूल्यमा सहजै मल ल्याउन सकिन्थ्यो, तर अहिले मूल्य पनि बढेको छ र ल्याउनसमेत कठिन भएको छ। त्यसका कारण किसान दोहोरो समस्यामा परेको उनको भनाइ छ। असारको पहिलो पन्ध्र दिनभित्र अधिकांश किसानले रोपाइँ सम्पन्न गरेकाले अहिले डिएपी मल हाल्ने सबैभन्दा उपयुक्त समय हो। यही समयमा मल प्रयोग गर्न नसके धानको वृद्धि, बाला लाग्ने प्रक्रिया तथा अन्तिम उत्पादनमा प्रत्यक्ष असर पर्ने कृषि प्राविधिकहरू बताउँछन्। तर मल अभावका कारण किसानले समयमा आवश्यक पोषण दिन नसकेको अवस्था छ।
स्थानीय किसान सोनिया राना ले मलको समस्या हरेक वर्ष दोहोरिने गरेको बताइन्। सरकार फेरिए पनि किसानको समस्या भने जस्ताको तस्तै रहेको उनको गुनासो छ। समयमै मल उपलब्ध नहुँदा खेती गर्न कठिन हुने र उत्पादनसमेत घट्ने भएकाले सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने उनको माग छ।
यता मल वितरणको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन ले भने सरकारी कोटाअनुसार मल आपूर्ति भइरहेको दाबी गरेका छन्। कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीका अनुसार कैलाली जिल्लाका लागि प्राप्त २६७।३५ मेट्रिक टन डिएपी मलमध्ये करिब ६० प्रतिशत वितरण भइसकेको छ। कार्यालयका अनुसार देशभर उपलब्ध हुने रासायनिक मलमध्ये सुदूरपश्चिम प्रदेशले करिब ९।६ प्रतिशत मात्र हिस्सा पाउने भएकाले प्रदेशमा प्रत्येक वर्ष मल अभावको समस्या दोहोरिने गरेको हो।
कृषि सामग्री कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवल सिंह बोगटी ले मल अभाव केवल कैलालीको मात्र नभई देशव्यापी समस्या रहेको बताए। उनका अनुसार सरकारले उपलब्ध गराएको परिमाणअनुसार मल वितरण भइरहेको छ र पर्याप्त मल प्राप्त भए किसानको मागअनुसार वितरण गर्न कुनै समस्या नहुने उनले स्पष्ट पारे। मलको अभावबाट सबैभन्दा बढी मारमा करार, ठेक्का तथा बटैयामा खेती गर्ने किसान परेका छन्। खेतीका लागि ठूलो लगानी गरिसकेका उनीहरू समयमा मल नपाउँदा उत्पादन घट्ने र आर्थिक घाटा बेहोर्नुपर्ने चिन्तामा छन्।
किसानहरूले खेतीको मुख्य सिजनमा वर्षेनी दोहोरिने मल अभाव अन्त्य गर्न सरकारसँग समयमै पर्याप्त रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूका अनुसार धान उत्पादन वृद्धि गर्ने सरकारी लक्ष्य पूरा गर्न पनि किसानलाई आवश्यक मल सही समयमा उपलब्ध गराउनु अपरिहार्य छ।

