धनगढी: गायिका इब्सल सन्ज्यालले आफ्नो विवादित अभिव्यक्तिपछि सार्वजनिक रूपमा माफी माग्दै आफ्नो भनाइको उद्देश्य अछामवासी वा सिंगो जिल्लाको प्रतिष्ठामा आँच पुर्याउने नरहेको स्पष्ट पारेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा सन्ज्यालले आफ्नो अभिव्यक्तिका कारण कसैको मन दुखेको वा अपमानको महसुस भएको भए त्यसका लागि अन्तरहृदयदेखि क्षमा चाहेको उल्लेख गरेकी छन्। उनले सम्पूर्ण अछामवासीसँग दुई हात जोडेर माफी माग्दै आफ्नो नियत गलत नभएको जिकिर गरेकी छन्।
एक टेलिभिजन अन्तर्वातमा सन्ज्यालले अछाम जिल्लामा छाउपडी प्रथा रहेको र उक्त प्रथा अछामीहरूले अमेरिकामा समेत अभ्यास गर्दै आएको बताएकी थिइन्। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा गायिका सन्ज्यालको तीव्र आलोचना भएको छ।
सन्ज्यालले आफू अमेरिकामा नबसेको र त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी नभएको स्वीकार गर्दै, त्यस सम्बन्धमा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी हुन्।

