धनगढी । सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यका साथ सुन्दर सुदूरपश्चिम यातायात प्रालिले गाडी नम्बरसहित चालक, परिचालक र सहचालकको परिचयपत्र (आईडी कार्ड) जारी गरेको छ। प्रालिले लागू गरेको नयाँ व्यवस्थाअनुसार अब प्रत्येक बसमा कार्यरत चालक, परिचालक र सहचालकले आफू कार्यरत गाडी नम्बर उल्लेख भएको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नेछन्। यसबाट बसपार्कमा आउने यात्रुले आफू चढ्ने गाडी तथा सम्बन्धित कर्मचारीको सहजै पहिचान गर्न सक्नेछन्।
प्रालिका अध्यक्ष पदमराज सापकोटाले यात्रुको सहजता र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको बताए। उनका अनुसार परिचयपत्रको प्रयोगले यात्रुलाई सही गाडी पहिचान गर्न सजिलो हुने, अनावश्यक अन्योल हट्ने तथा बसपार्कमा सक्रिय दलालहरूको चलखेल नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।
यस्तै, प्रालिका कोषाध्यक्ष गोविन्द शाहका अनुसार बसपार्कमा टिकट लिन आउने यात्रुलाई पनि यस व्यवस्थाले प्रत्यक्ष रूपमा सहजता प्रदान गर्नेछ। “यात्रुले आधिकारिक कर्मचारीलाई सजिलै चिन्ने भएकाले टिकट खरिददेखि गाडीमा सवार हुने प्रक्रियासम्म थप व्यवस्थित र सुरक्षित हुनेछ,” उनले बताए। सुन्दर सुदूरपश्चिम यातायात प्रालिले यात्रुमैत्री सेवा विस्तारसँगै पारदर्शी र भरपर्दो सार्वजनिक यातायात प्रणाली निर्माणका लागि यस्ता सुधारात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

