धनगढी । अत्तरियाको सबैभन्दा पुरानो सृजनशील रोड एक सातादेखि बन्द रहेको छ । गोदावरी नगरपालिका – १ स्थित अत्तरियाको महेन्द्रनगर रोड स्थिति वरपीपल गल्लीलाई धनगढी रोड सँग जोड्ने पुरानो रिङ रोड स्थानीयले एक साता देखि बन्द गरेका हुन । करिब साढे २ दशक अघि नै निर्माण भएको उक्त सडक विगत ३र४ वर्ष देखि जीर्ण बनेको भए पनि मर्मत नगरिएको भन्दै स्थानीय आन्दोलित भएर सडकमा सडक बन्द गरेका छन ।
स्थानीय लक्ष्मी देवकोटाले २७ र २८ वर्ष पहिले बनेको सडक अहिले सम्म मर्मत नभएर हिलाम्मे धुलाम्मे भएपछि आफूहरूले सडक बन्द गरेको बताइन् । उनले सडक मर्मत गरिदिनका लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको बताइन् ।
स्थानीय वीरेन्द्र कुमार चौधरीले सडक मर्मत गर्नुको साटो कहिले बिजुली, कहिले पानीको पाइप हालेर भनेर झन् खन्ने काम मात्रै भएको बताए । उनले २ घर भएको ठाउँमा पनि बाटो पिच हुँदा बजारको मुख्य सडकको बेवास्ता गरिएको बताए । ‘यो बाटोमा गोदामहरू छन् । जसका लागि ठुला ठुला ट्रक चल्ने गरेका छन्’ उनले भने ‘बाटो जर्जर अवस्थामा पुगिसक्दा पनि मर्मत भने भएको छैन ।
गोदावरी नगरपालिका – १ का वडाध्यक्ष गोपाल दत्त भट्टले भने प्रदेश सरकारले उक्त बाटोमा बजेट हालेको बताए । ‘प्रदेशको बजेटबाट ठेक्का लगाएर १६२ मिटर सडकमा ठेकेदारले बेस हालेर पानी पिच गरेको छ’ उनले भने ‘त्यसपछिको सडक आगामी दिनको बजेटमा होला अहिले त्यति मात्रै हो काम । स्थानीले पुरै अहिले नै कालोपत्रे हुनुपर्छ भन्दै छन ।’
करिब ७ सय मिटरको रिङ रोडमा आधा जति सडक हाल जीर्ण अवस्थामा रहेको छ । प्रदेशले १६२ मिटरका लागि मात्रै बजेट विनियोजन गरेर काम गरिरहेको छ ।

