धनगढी: मनसुन सक्रिय भएसँगै धनगढी उपमहानगरपालिका–१२ ले बिपद पूर्वतयारीका कार्यक्रमलाई तीव्र बनाएको छ। वडाबासीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले वडा कार्यालयले डिभिजन वन कार्यालयसँग समन्वय गरी बस्ती तथा सडक नजिक रहेका सुकेका र जोखिमपूर्ण रुख हटाउने अभियान सञ्चालन गरेको हो।
वर्षायाममा सुकेका रुख ढल्ने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले ती रुख हटाउनुका साथै सडक छेउमा रहेका काटिएका रुखका मुढा र जरासमेत हटाइएको वडा कार्यालयले जनाएको छ। यसबाट स्थानीयवासीले सुरक्षित महसुस गर्न थालेका छन्। स्थानीयवासीले सुकेका रुखले दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता रुख समयमै हटाउने कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।

वडा कार्यालयले भौतिक जोखिम न्यूनीकरणसँगै बिपद व्यवस्थापनको तयारीलाई पनि सुदृढ बनाएको छ। बाढी, डुबान, हावाहुरी वा अन्य प्राकृतिक विपद्का बेला तत्काल उद्धार र राहतका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा उपमहानगर प्रहरीसँग आवश्यक समन्वय भइरहेको वडा अध्यक्ष सेरबहादुर महराले जानकारी दिए।
उनका अनुसार बिपदको समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ भने स्वयंसेवक परिचालनको व्यवस्थासमेत मिलाइएको छ। मनसुन अवधिभर सम्भावित जोखिमलाई ध्यानमा राख्दै वडा कार्यालय उच्च सतर्कताका साथ पूर्वतयारीमा जुटेको अध्यक्ष महराले बताए।

