कञ्चनपुर — संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारगारको अनुगमन गरेको छ । शुक्रबार जिल्लाको सुरक्षा निकायका प्रमुख सहित संसदीय टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा टोलीले कैदी बन्दीहरुले भोगिरहेका कानुनीदेखि व्यावहारिक र बसोबासका समस्याबारे छलफल गरेको छ । छलफलका क्रममा कैदी बन्दीहरुले जीर्ण भवनका कारण बसोबासमा निकै समस्या भएको देखि कानुनी समस्याका कारण दुख पाइरहेको विषय राखेका थिए ।
‘राति कतिबेला छतबाट इँटा खस्छ केही थाहा हुँदैन, बर्खामा त्रिपालबाट पानी चुहिन्छ, ढुक्कसँग सुत्न सक्ने अवस्था छैन,’ समितिको टोलीसँग महेन्द्रनगरको कञ्चनपुर कारागारमा रहेका कैदी दानसिंह ठुकराठीले भने, ‘पुरानो जीर्ण भवनभित्र हामीहरुलाई निकै जोखिम छ ।’ यति मात्रै होइन चर्को गर्मीका बेला विद्युतको समस्याका कारण बस्न समेत निकै गाह्रो भइरहेको छ । पानी परेका बेला नांगो तारका कारण करेन्ट लाग्ने जोखिम पनि त्यतिकै हुन्छ ।
जीर्ण भवनको मात्रै होइन कारगारभित्र गरिने योगदेखि खेलकुद लगायतका गतिविधि गर्न समेत आवश्यक सामग्री नभएको, कैदी बन्दीले पाउने सिदा भत्ता लगायतका समस्या उनले संसदीय टोलीसामु राखे । स्वास्थ्य उपचारमा निस्शुल्क पाउने औषधि नपाइने गरेको तथा खर्च अभावका कारण उपचार गर्नै गाह्रो हुने गरेको लगायतका समस्या राखे । ठकुराठीले मात्रै होइन कारागारभित्रका कैदी बन्दीहरुले निश्चित अवधिको कैद काटेपछि पाउने छुटदेखि, स्थानान्तरण र सीपमूलक तालिमबारे समस्या सुनाए । ‘मैले अदालतले तोकेभन्दा बढी जेल काटिसकेँ, तर लगतमा अहिले पनि पूरा भएको छैन,’ टोलीसामु उनले भने, ‘यस्ता स–साना समस्याले हामीहरुले दुस्ख पाइरहेका छौं ।’
‘देशभरिका कारागारको अवस्था कस्तो छ रु बसोबासको अवस्था कस्तो छ, सरकारले के गर्नुपर्छ, स्थानीय प्रशासनले के गर्नुपर्छ रु’ अनुगमन टोली सदस्य रेखा कुमारी यादवले भनिन्, ‘हामी सबै कुरा बुझेर प्रतिवेदनसहित सरकारलाई निर्देशन दिने छौं ।’ उनले धेरै कैदीबन्दीहरु कानुनी समस्याका कारण जेल जीवन बिताइरहेको बताउदै त्यसका लागि आवश्यक कानुनी सुधार गर्नुपर्ने बताइन् ।
‘कारागारलाई सुधार गृहका रुपमा विकास गरिनुपर्छ, कैदी बन्दीको मानव अधिकारको पनि ख्याल गर्नुपर्छ,’ अर्का सदस्य सुरेन्द्र चौधरीले भने, ‘कैदीबन्दीहरुलाई सीपमूलक तालिम दिएर जेलबाट छुटेपछि पनि समुदायमा घुलमिल हुन सक्ने बनाउनुपर्छ ।’ कारागार प्रशासनका अनुसार अहिले कारागारमा ३ सय ८९ कैदी बन्दी रहेका छन् । जेनजी आन्दोलनका क्रममा भागेका ८७ जना कैदी बन्दी अझै फर्किन बांकी रहेको कारगार प्रशासनले जनाएको छ ।
अनुगमन टोलीमा रहेका अर्का सांसद दीपक बोहोराले कारागारमा रहेका समस्या समाधानका लागि अनुगमन भइरहेको बताए । उनले कारागारलाई सुधार गृहका रुपमा विकास गरिनुपर्ने बताए ।

