कैलाली । सातौँ एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत ‘सुदूरपश्चिम आइकन पुरुष’ विधाको उपाधि भारोत्तोलनका अशोक भण्डारीले जितेका छन्।
लगातार राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुका साथै राष्ट्रिय कीर्तिमान कायम गरेका भण्डारीलाई खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रममा सम्मान गरिएको हो। अवार्ड ग्रहणपछि उनले यस सम्मानले खेलप्रतिको आफ्नो उत्साह र जिम्मेवारी अझ बढाएको प्रतिक्रिया दिए।
यस विधामा क्रिकेटका नारायण जोशी र सुटिङका सुनिल चन्द पनि मनोनयनमा परेका थिए। त्यसैगरी, ‘सुदूरपश्चिम आइकन फिमेल’ विधाको उपाधि एथलेटिक्सकी पूजा साउँदले जितेकी छन्। उनले कबड्डीकी दीपा देउवा र तेक्वान्दोकी दीपा जैसीलाई पछि पार्दै ट्रफी र नगद पुरस्कार प्राप्त गरिन्।
अवार्ड प्राप्त गरेपछि साउँदले यो सम्मानले आफ्नो खेल जीवनमा अझ मेहनतका साथ अघि बढ्न प्रेरणा मिलेको बताइन्।

