धनगढी: भारतको पिथौरागढस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि दार्चुला प्रशासनले महाकाली नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले बुधबार सार्वजनिक सूचना जारी गर्दै धौलीगंगा पावर स्टेसनबाट बाँधमा जमेको गेग्रान तथा बालुवा सफा गर्न ‘सिल्ट फ्लसिङ’ गरिने जानकारी प्राप्त भएकाले नदीआसपासका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीद्वारा जारी सूचनाअनुसार धौलीगंगा जलविद्युत् परियोजनाको बाँध शुक्रबार बिहान ६ बजेदेखि शनिबार अपराह्न ५ बजेसम्म खोलिनेछ। यस अवधिमा करिब ३५ घण्टासम्म महाकाली नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्ने प्रशासनको चेतावनी छ। प्रशासनले बाँधको ढोका खोलिने अवधिमा मात्रै होइन, त्यसपछिको केही समयसम्म पनि नदीमा जलस्तर बढ्न सक्ने भएकाले महाकाली नदीकिनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले नदीकिनारमा अनावश्यक आवतजावत नगर्न, पशुचौपाया तथा सामग्री सुरक्षित स्थानमा सार्न र स्थानीय तह तथा सुरक्षा निकायबाट जारी सूचनालाई पालना गर्न अनुरोध गरेको छ।

