धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजि सानुराम भट्टराई नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण गरेको छ। निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक भट्टराईले कार्यालय अन्तर्गतका विभिन्न शाखाहरू, प्रहरी गतिविधि, अभिलेख व्यवस्थापन, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सम्बन्धी कार्यहरूको अवलोकन गरेका थिए। साथै, कार्यालयको समग्र कार्यसम्पादन, सेवा प्रवाह र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी लिएका थिए।
निरीक्षणपश्चात् आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री तथा व्यावसायिक सेवा प्रवाहमा विशेष ध्यान दिन निर्देशन दिए। जनगुनासोको तत्काल सम्बोधन गर्न, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन, अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग बढाउन तथा फरार प्रतिवादी पक्राउ र अपराध नियन्त्रणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन उनले आग्रह गरे।
त्यसैगरी, नागरिकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सेवाग्राहीप्रति शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिँदै उनले संगठनको गरिमा उच्च राख्ने गरी इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी संगठनको सेवा प्रवाह, सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रणका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले नियमित रूपमा अनुगमन तथा निरीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


