कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ क्षेत्रमा निर्माणाधीन महाकाली करिडोर सडक आयोजनामा चरम ढिलासुस्ती भएको भन्दै स्थानीय युवाहरूले आन्दोलनको घोषणा गरेका छन्।
स्थानीयवासीका अनुसार निर्माण व्यवसायीले वैकल्पिक बाटोको व्यवस्था नगरी हचुवाको भरमा सडक निर्माण गरिरहेको र अत्यन्तै सुस्त गतिमा काम भइरहेको छ। आन्दोलनरत युवाहरूले सडक निर्माण कार्यलाई तीव्रता दिन कम्तीमा चारवटा स्काभेटर परिचालन गरी वर्षायाम सुरु हुनुअघि नै सडक सञ्चालनमा ल्याउन माग गरेका छन्।
स्थानीय युवा दीपेन्द्र सिंह ऐरीले निर्माण कम्पनीले कछुवागतिमा काम गरिरहेको आरोप लगाउँदै यस अवस्थालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए। उनले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्माण कार्यमा आवश्यक पहल गर्न आग्रह गरेका छन्।
सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको, बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भइरहेको स्थानीयको गुनासो छ। निर्माण व्यवसायीले वैकल्पिक मार्गको व्यवस्था नगर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ।
माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिँदै स्थानीय युवाहरूले प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्ने, आँखामा कालोपट्टी बाँधेर विरोध जनाउने तथा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यलगायत जनप्रतिनिधिहरूको तस्वीर राखेर विरोध कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।
स्थानीयले महाकाली करिडोर सडकखण्डलाई तत्काल निःशर्त सञ्चालनमा ल्याउन तथा निर्माण कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।


