धनगढी । सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाको अवस्था वर्षेनि चिन्ताजनक बन्दै गएको छ। प्रदेशभर पछिल्ला तीन आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा ५ सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् भने एक हजारभन्दा बढी घाइते भएका छन्। दुर्घटनाका तथ्यांकले सडक सुरक्षा अझै पनि प्रदेशका लागि गम्भीर चुनौतीका रूपमा रहेको देखाएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म प्रदेशभर कुल ८०६ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५१५ जनाको मृत्यु भएको छ भने १ हजार ६०७ जना घाइते भएका छन्।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा २४९ वटा सवारी दुर्घटना हुँदा १७७ जनाले ज्यान गुमाएका थिए। सो अवधिमा ४६३ जना घाइते भएका थिए। आर्थिक वर्ष २०८०/८१ मा दुर्घटनाको संख्या बढेर ३०९ पुगेको भए पनि मृत्यु हुनेको संख्या केही घटेर १७२ मा झरेको थियो। उक्त वर्ष ५३६ जना घाइते भएका थिए। यस्तै चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म मात्रै २४८ वटा दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा १६६ जनाको मृत्यु भएको छ भने ६०८ जना घाइते भएका छन्। आर्थिक वर्ष पूरा हुन अझै समय बाँकी रहेकाले दुर्घटनाको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताए। उनका अनुसार तीव्र गति, चालकको लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति, ट्राफिक नियम उल्लंघन तथा सडकको कमजोर अवस्था दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन्। “सवारी चालकमा ट्राफिक नियमप्रतिको पूर्ण सचेतना र जिम्मेवारीबोधको अभाव देखिन्छ। केही चालकले जोखिमपूर्ण तरिकाले सवारी चलाउने गरेका कारण दुर्घटना बढिरहेका छन्,” प्रहरी उपरीक्षक कार्कीले भने, “सडक सुरक्षा सुनिश्चित गर्न चालक, यात्रु र सम्बन्धित निकाय सबैको समान जिम्मेवारी हुन्छ।”
ट्राफिक प्रहरीको तथ्यांकले मोटरसाइकल दुर्घटना सबैभन्दा बढी हुने गरेको देखाएको छ। प्रदेशका अधिकांश सडकमा मोटरसाइकलको संख्या बढ्दो क्रममा रहेकाले दुर्घटनामा पनि यही साधन बढी संलग्न हुने गरेको प्रहरीको भनाइ छ। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष ललित चन्दले दुर्घटना न्यूनीकरणका लागि चालकको क्षमता अभिवृद्धि र नियमित तालिम आवश्यक रहेको बताए। उनले व्यावसायिक चालकलाई समय–समयमा पुनर्ताजगी तालिम दिनुपर्ने र सडकमा अनुशासन कायम गर्न कडाइका साथ नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। त्यस्तै सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले सडक पूर्वाधारको कमजोरी पनि दुर्घटनाको प्रमुख कारण रहेको बताए। उनका अनुसार साँघुरा सडक, जोखिमयुक्त मोड, पर्याप्त संकेत चिह्नको अभाव तथा सडक मर्मतसम्भारमा हुने ढिलाइले दुर्घटनाको जोखिम बढाइरहेको छ।
“सवारी चालकलाई मात्रै दोष दिएर दुर्घटना नियन्त्रण सम्भव छैन,” सापकोटाले भने, “सडकको गुणस्तर सुधार, संकेत प्रणालीको व्यवस्थापन र सुरक्षित यातायात वातावरण निर्माणमा राज्यले विशेष ध्यान दिनुपर्छ।” सवारी चालक अम्मर बिष्टले ट्राफिक नियमबारे पर्याप्त जानकारी र चेतनाको अभावले पनि दुर्घटना बढाएको बताए। उनले ट्राफिक प्रहरीले जरिवाना र राजस्व संकलनमा मात्र केन्द्रित नभई ट्राफिक शिक्षा तथा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। “चालक, सहचालक तथा सर्वसाधारणलाई ट्राफिक नियमबारे व्यापक रूपमा जानकारी दिन सकियो भने दुर्घटना धेरै हदसम्म कम गर्न सकिन्छ,” उनले भने।
यातायात तथा सडक सुरक्षासम्बन्धी विज्ञहरूले पनि दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधार, चालकको नियमित प्रशिक्षण, सवारी साधनको प्राविधिक परीक्षण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या केही घटबढ भए पनि मानवीय क्षति अझै उच्च रहेको तथ्यांकले देखाएको छ। सडक दुर्घटनालाई नियन्त्रणमा ल्याउन ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भएकाले प्रदेश सरकार, स्थानीय तह, यातायात व्यवसायी, चालक तथा नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
सडक सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायले प्रभावकारी योजना र कार्यक्रम लागू नगर्ने हो भने आगामी वर्षहरूमा पनि दुर्घटनाबाट हुने जनधनको क्षति रोक्न चुनौतीपूर्ण रहने देखिएको छ।


