धनगढी । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति सत्तारुढ नेपाली कांग्रेसकै प्रदेशसभा सदस्यले असन्तुष्टि जनाएका छन्। विधायन तथा प्रदेश मामिला समितिका सभापति समेत रहेका कांग्रेस प्रदेशसभा सदस्य दिवानसिंह विष्टले बजेट नीति, विधि र प्रक्रियाविपरीत ढंगले ल्याइएको आरोप लगाएका हुन्।
कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा ल्याइएको बजेटप्रति आफ्नै दलका सांसद विष्टले सार्वजनिक रूपमा विरोध जनाएका छन्। उनले बजेट निर्माणमा समावेशिता र सन्तुलनको अभाव रहेको टिप्पणी गरे। “सरकारले सबै क्षेत्र र समुदायलाई सम्बोधन हुने गरी बजेट ल्याउनुपर्थ्यो। तर जहाँ मन्त्री छन्, त्यहीँ बजेट खन्याउने काम भएको छ,” विष्टले भने, “आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएर बजेट विनियोजन गरिएको देखिन्छ।”
उनले बजेट वितरणमा समानता र न्यायको सिद्धान्त पालना नगरिएको दाबी गर्दै प्रदेशका सबै जिल्लालाई समेट्ने गरी स्रोत र साधनको बाँडफाँट हुनुपर्ने बताए। सत्तारुढ दलकै सांसदबाट बजेटको आलोचना भएपछि प्रदेश सरकारमाथि थप दबाब बढेको छ। बजेट सार्वजनिक भएयता सत्ता गठबन्धनभित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन्।


