धनगढी– जिफन्टमा आबद्ध बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स नेपाल) ले क्यान्सरबाट पीडित सेल्स एण्ड मार्केटिङ व्यवसायी अर्जुन कुमार कार्कीको उपचारका लागि रु २ लाख ४७ हजार ८५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। सिन्धुली घर भई लामो समयदेखि सेल्स एण्ड मार्केटिङ क्षेत्रमा आबद्ध कार्की हाल मुखभित्र गिजामा भएको क्यान्सरको उपचारका लागि भारतमा उपचाररत छन्। उनी क्वालिटी थाई फुड्स प्रालिमा कार्यरत छन्।
ओम्स नेपालको आह्वानमा सञ्चालन गरिएको सहयोग अभियान अन्तर्गत २९३ जना दाताबाट संकलित रु २ लाख ४७ हजार ८५ रुपैयाँ कार्कीको सिद्धार्थ बैंकमा रहेको खातामा जम्मा गरिएको संघका उपमहासचिव जनक ढकालले जानकारी दिए।
संघका अनुसार उपचार सहयोग अभियानमा विभिन्न क्षेत्रका सहयोगीहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिएका थिए। संकलित सम्पूर्ण रकम एकमुष्ट रूपमा कार्कीको खातामा हस्तान्तरण गरिएको हो।
ओम्स नेपालले अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। संघले कार्की पूर्ण रूपमा स्वास्थ्य लाभ गरी चाँडै सामान्य जीवनमा फर्किन सकून् भन्ने शुभेच्छासमेत व्यक्त गरेको छ।


