धनगढी । चालु आर्थिक वर्ष २०८२ (८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने देखाएको हो ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको योगदान सात प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । यस प्रदेशको प्रतिव्यक्ति आय एक हजार १५३ अमेरिकी डलर रहने अनुमान गरिएको आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बताए । चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेशको कुल आन्तरिक आय एक अर्ब १० करोड ५५ लाख रुपियाँ रहेको उहाँले बताए ।
आर्थिक सर्वेक्षण अनुसार यस प्रदेशमा मूल्य सूचकाङ्क राष्ट्रिय औसतभन्दा बढी र ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी रहेको छ । गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशको उपभोक्ता मूल्य सूचकाङ्क ३।३९ प्रतिशतले वृद्धि भइ १०७.८४ पुगेको जनाइएको छ ।
यस अवधिमा प्रदेशको ग्रामीण क्षेत्रको सूचकाङ्क १०८.०२ र सहरी क्षेत्रको सूचकाङ्क १०७।७७ पुगेको छ । राष्ट्रिय सूचकाङ्कभन्दा सुदूरपश्चिम प्रदेशको सूचकाङ्क ०.८८ अङ्कले बढी देखिएको जनाइएको छ । चालु आर्थिक वर्षको चैतसम्म राष्ट्रिय सूचकाङ्क १०९.४ रहेकोमा सुदूरपश्चिम प्रदेशको ११४.३ पुगेको मन्त्री धामीले बताए ।
आर्थिक वर्ष २०८२ (८३ को चैत मसान्तसम्म प्रदेश सरकारको बजेट बचत नौ अर्ब ७८ करोड १० लाख र राजस्व बचत तीन अर्ब ४० करोड ७२ लाख रुपियाँ ऋणात्मक रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनको अनुपातमा बजेट र राजस्व सन्तुलनमा सामान्य गिरावट देखिएको मन्त्री धामीले बताउनुभयो ।
बजेट सन्तुलन कुल गार्हस्थ उत्पादनको तुलनामा ०.८८ प्रतिशतले धनात्मक रहेको छ भने राजस्व सन्तुलन १.८४ प्रतिशत ऋणात्मक रहेको जनाइएको छ ।


