धनगढी: सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नवजीवन अस्पताल प्रालिले २३ वटा ट्राफिक कोण (ट्राफिक कोन) हस्तान्तरण गरेको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय, अत्तरियाले आयोजना गरेको “सुदूरपश्चिम प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी” कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक चक्र खडायतले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा खडायतले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि नवजीवन अस्पताल निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उनले सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि र ट्राफिक व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।
नवजीवन अस्पतालले यसअघि पनि ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले १५० वटा ट्राफिक कोण हस्तान्तरण गरेको थियो। अस्पतालले आगामी दिनमा पनि सडक दुर्घटना नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा जनचेतनामूलक अभियानमा आवश्यक सहयोग जारी राख्ने जनाएको छ।
सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका क्षेत्रमा सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्यलाई सकारात्मक पहलका रूपमा हेरिएको छ। सम्बन्धित निकायहरूले यस्ता सहकार्यले सुरक्षित सडक र व्यवस्थित यातायात प्रणाली निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।


