धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसबाट घोषित सम्पूर्ण परिणाम बदर गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन आयोगले जारी गरेको पत्रमार्फत कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रियाबारे प्राप्त उजुरी, गुनासा तथा प्रमाणहरूको अध्ययनपछि निर्वाचनमा लोकतान्त्रिक प्रक्रिया, विधि र कार्यविधिको पूर्ण पालना नभएको प्रारम्भिक निष्कर्ष निकालेको जनाएको छ।
आयोगका अनुसार निर्वाचन बदर गर्नुका मुख्य आधारहरूमा निर्वाचनको न्यूनतम आधारभूत प्रक्रिया पालना नहुनु, मतदान र मतगणनासम्बन्धी स्थापित नियम तथा निर्वाचन कार्यविधिको उल्लंघन हुनु, विभिन्न पदका अधिकांश उम्मेदवारहरूले प्रक्रियाप्रति लिखित असहमति जनाउनु तथा स्थापित नामावली समितिका केही योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नहुनु रहेका छन्। केन्द्रीय निर्वाचन आयोगले जारी गरेको निर्णयमा निर्वाचनका क्रममा भएका उपरोक्त गम्भीर त्रुटि तथा विधानविपरीतका गतिविधिका कारण निर्वाचनको निष्पक्षता र वैधतामाथि प्रश्न उठेको उल्लेख गरिएको छ।
आयोगले पार्टीको विधान, निर्वाचन कार्यविधि तथा आन्तरिक लोकतन्त्रको मर्मलाई ध्यानमा राख्दै कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सबै परिणाम पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको जनाएको छ। साथै आयोगले कैलाली जिल्लामा पुनः निष्पक्ष, पारदर्शी र विधिसम्मत निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी गरिने जानकारी दिएको छ। यसका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिने तथा केन्द्रीय प्रतिनिधि टोली खटाइने व्यवस्था समेत मिलाइने आयोगले उल्लेख गरेको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी. द्वारा हस्ताक्षरित उक्त निर्णयको बोधार्थ पार्टीको केन्द्रीय सचिवालय, केन्द्रीय महामन्त्री, केन्द्रीय अनुशासन आयोग तथा सम्बन्धित संयुक्त उजुरीकर्ताहरूलाई पठाइएको छ।



