धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा गणेश बहादुर बोहराले सह–महामन्त्री पदमा पुनः उम्मेदवारी घोषणा गरेका छन्। पार्टी स्थापना कालदेखि नै सुदूरपश्चिम प्रदेशका संस्थापक सदस्यका रूपमा सक्रिय रहेका बोहरा कुनै राजनीतिक पृष्ठभूमिबाट नआएर पनि संगठन निर्माण र विस्तारमा निरन्तर क्रियाशील रहँदै आएका नेता हुन्। उनले सुदूरपश्चिमका नौवटै जिल्लामा पार्टी संगठन विस्तार तथा सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टी वृत्तको भनाइ छ।
रास्वपाको सुरुवाती चरणमा सुदूरपश्चिममा सीमित संख्यामा रहेका सदस्य तथा समर्थकलाई संगठित गर्दै हाल हजारौं नागरिकसम्म पार्टीको पहुँच विस्तार गर्न बोहराले योगदान पुर्याएको बताइन्छ। संगठन निर्माणको क्रममा उनले पार्टीका नीति, सिद्धान्त र अभियानलाई जनस्तरसम्म पुर्याउन सक्रिय भूमिका खेलेका छन्। कम बोल्ने, इमान्दार, जिम्मेवार तथा मेहनती नेताका रूपमा परिचित बोहरा कार्यकर्तामाझ लोकप्रिय मानिन्छन्। संगठनप्रतिको निष्ठा, समर्पण र निरन्तर सक्रियताले उनलाई पार्टीभित्र विश्वासिलो नेताका रूपमा स्थापित गरेको कार्यकर्ताहरू बताउँछन्।
पेशाले कृषक तथा यातायात व्यवसायी रहेका बोहराले व्यवहारिक अनुभवलाई संगठन निर्माणसँग जोड्दै पार्टीलाई जनताको अझ नजिक पुर्याउने प्रयास गरिरहेका छन्। उनले पार्टीलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउन आफू पुनः सह–महामन्त्री पदमा उम्मेदवारी लिएर मैदानमा उत्रिएको बताएका छन्।
आगामी अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने तयारी भइरहेका बेला बोहराको उम्मेदवारीलाई संगठन निर्माणमा निरन्तर योगदान दिएका नेताको रूपमा हेरिएको छ। उनले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र जनमुखी राजनीतिक अभ्यासलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


