धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिना बिष्टले प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कानुन विषयमा स्नातक तह (BALLB) अन्तिम सेमेस्टरमा अध्ययनरत बिष्टले आफूलाई युवा, महिला तथा परिवर्तन चाहने नागरिकहरूको साझा आवाजका रूपमा प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेकी हुन्।
उम्मेदवारी घोषणा गर्दै बिष्टले युवा नेतृत्व, सुशासन, पारदर्शिता, जवाफदेहिता, शिक्षा, रोजगारी र समावेशी विकासका मुद्दालाई आफ्नो प्राथमिकतामा राखेको बताइन्। उनले सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै प्रदेशले भोग्दै आएका समस्याहरूको समाधानका लागि व्यवहारिक, जनमुखी र न्यायसंगत कानुन निर्माणमा आफ्नो भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिन्। उनले प्रदेशको विकास केवल भौतिक पूर्वाधार निर्माणमा सीमित हुन नसक्ने बताउँदै पारदर्शी शासन प्रणाली, प्रभावकारी नीति निर्माण तथा नागरिकको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको धारणा राखिन्। विशेष गरी युवा र महिलालाई निर्णय प्रक्रियाको केन्द्रमा पुर्याउनुपर्ने आवश्यकता औंल्याउँदै राजनीतिक नेतृत्वमा नयाँ पुस्ताको उपस्थिति थप सशक्त हुनुपर्ने उनको भनाइ छ।
बिष्टले परम्परागत नेतृत्व शैलीलाई रूपान्तरण गर्दै नयाँ सोच, नयाँ ऊर्जा र जिम्मेवार राजनीतिक संस्कारको विकास गर्नुपर्ने बताइन्। युवाहरूको क्षमता, सिर्जनशीलता तथा नेतृत्व कौशललाई प्रदेशको विकाससँग जोड्न सके मात्र समृद्ध सुदूरपश्चिम निर्माण सम्भव हुने उनको विश्वास छ। कानुन विषयको अध्ययनले नीति तथा कानुन निर्माण प्रक्रियालाई गहिराइबाट बुझ्ने अवसर दिएको उल्लेख गर्दै उनले प्रदेश सभाबाट निर्माण हुने कानुनहरू जनताको वास्तविक आवश्यकता र अपेक्षाअनुसार हुनुपर्नेमा जोड दिइन्। साथै कानुनी शासनको सुदृढीकरण, सामाजिक न्याय, समान अवसर तथा नागरिक अधिकारको संरक्षणका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
रास्वपाको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा बिष्टको उम्मेदवारीलाई युवा नेतृत्वको उदयका रूपमा समेत हेरिएको छ। राजनीतिक क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउन तथा महिला नेतृत्वलाई थप सशक्त बनाउन उनको उम्मेदवारीले सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।
‘युवाको नेतृत्व, सुशासनको प्रतिबद्धता र समृद्ध सुदूरपश्चिमको लक्ष्य’ लाई मूल आधार बनाउँदै मैदानमा उत्रिएकी बिष्टले आफ्नो उम्मेदवारी केवल एक पदका लागि नभई सुदूरपश्चिममा नयाँ राजनीतिक संस्कृति, उत्तरदायी नेतृत्व र सकारात्मक परिवर्तनको अभियानका लागि भएको बताएकी छन्।


