धनगढी: आगामी असार १ गते हुने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृ जसु भट्ट ले उपसभापति पदमा दाबी प्रस्तुत गरेकी छन्। रास्वपा सुदूरपश्चिमकी संस्थापक सदस्यमध्ये एक भट्टले प्रदेश अधिवेशनमार्फत उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेको बताएकी छन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट समानुपातिकतर्फ उम्मेदवार बनेकी थिइन्। पार्टीको प्रदेश संरचना निर्माणको प्रारम्भिक चरणदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएकी भट्ट संस्थापक कोषाध्यक्ष समेत हुन्।
हाल रास्वपाको महिला विभाग सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिरहेकी भट्ट पार्टीका गतिविधिमा निरन्तर सक्रिय रहँदै आएकी छन्। पार्टी सभापति रवि लामिछाने का नीतिहरूको समर्थन गर्दै संगठन विस्तार र जनसम्पर्कमा योगदान पुर्याएको भन्दै कार्यकर्तामाझ उनको राम्रो प्रभाव रहेको बताइन्छ। सामाजिक सञ्जालमार्फत विभिन्न सामाजिक तथा समसामयिक विषयमा खुलेर धारणा राख्ने भट्टलाई पार्टीभित्र स्पष्ट वक्ता र सक्रिय नेतृका रूपमा हेरिने गरिएको छ। अधिवेशन नजिकिँदै गर्दा उपसभापति पदमा उनको दाबी बलियो देखिएको र उनलाई निर्विरोध चयन गराउने विषयमा समेत कार्यकर्ताहरूबीच छलफल भइरहेको स्रोतले जनाएको छ।
रास्वपाको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनले नयाँ प्रदेश नेतृत्व चयन गर्ने भएकाले यसलाई पार्टी संगठन सुदृढीकरणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। अधिवेशनमा प्रदेशभरबाट प्रतिनिधिहरूको सहभागिता रहने तयारी गरिएको छ।


