धनगढी: सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेरअघि मन्त्रिपरिषद्को बैठक बसेको छ । आजै सरकार पुनर्गठनको तयारी रहेकोमा मन्त्रिपरिषद्को बैठक बसेको हो । बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूको कामप्रति धन्यवाद ज्ञापन गरेका थिए । ‘मुख्यमन्त्रीज्यूले २२ महिना सँगै काम गरिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको हो,’ सामाजिक विकासमन्त्री मेघराज खड्काले भने ।
प्रदेशमा मुख्यमन्त्री शाहबाहेक सबै मन्त्री परिवर्तन हुँदै छन् । प्रदेश सरकारमा कांग्रेसको कोटाबाट तीन मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन् । हाल कांग्रेसबाट सरकारमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम रहेका छन् ।
विक्रमसिंह धामी आर्थिक मामिलामन्त्री र मधु भारती राज्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । अन्य दुई मन्त्री र एक राज्यमन्त्रीको नाम भने टुंगो लागेको छैन ।
यस्तै, एमालेबाट सन्तोष शर्मा थापा, चक्रबहादुर मल्ल, दमन भण्डारी मन्त्री तथा जानकी ऐर बमलाई राज्यमन्त्री बनाउने तयारी छ । हाल एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की र भौतिक राज्यमन्त्री निर्मला साउद सरकारमा छन् ।
यस्तै कांग्रेस संसदीय दलले प्रमुख सचेतक परिवर्तन गरेको छ । मन्त्री बन्ने भएपछि विक्रमसिंह धामीले राजीनामा दिएसँगै सरस्वती खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरिएको हो । मुख्यमन्त्रीसमेत रहेका दलका नेता कमलबहादुर शाहले खड्कालाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । खड्का अहिले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास राज्यमन्त्री हुन् ।


