महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित भएका छन्। आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको रास्वपा कञ्चनपुरले जनाएको छ। राति सम्पन्न मत गणनाअनुसार सभापति पदमा विष्टले १९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नवीनबहादुर चन्दले ६१ मत प्राप्त गरेका छन्। यसअघि पनि विष्ट नै कञ्चनपुरको सभापति थिए। उपसभापतिमा भागरथी बडाल निर्विरोध निर्वाचित भएका हुन्।
त्यसैगरी सचिवमा राकेशबहादुर चन्दले रामदत्त भट्टलाई पराजित गरेका छन्। सचिवमा चन्दले १९५ र भट्टले ५५ मत प्राप्त गरेका छन्। जिल्ला सभापति र सचिव पदका लागि भएको निर्वाचनमा कूल २५९ मत खसेको थियो। सहसचिव पदमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदमा पनि निर्वाचन भएको थियो। जसमा अम्बादत्त जोशी १२६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए। सचिव राकेशबहादुर चन्दले नेतृत्वले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै जिल्लामा रास्वपाको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताए। सहमतिका माध्यमबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो।


