धनगढी । आगामी आर्थिक वर्ष २०८३ र८४ को बजेट ल्याउने समय नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकार भने सत्ता जोगाउने उपायको खोजीमा छ । मङ्गलबार एकाएक आफ्नै दल नेपाली कांग्रेसका ९ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सुदूरपश्चिमको सरकार परिवर्तन हुने हल्ला चल्यो । प्रस्ताव दर्ता गर्नेमध्येकी एक सांसद डम्मरी महरालाई मुख्यमन्त्री कमल बहादुर शाहले अन्तिम समयमा आफ्नो पक्षमा पारेपछि सरकारको भविष्यमाथि उठेको प्रश्न तत्कालका लागि टरेको छ ।
सरकारको भविष्यबारेको सङ्कट भने नटरेको भन्दै मुख्यमन्त्री शाह लगातार छलफलमा छन् । कांग्रेसका केही केन्द्रीय नेतासमेत आन्तरिक विवाद मिलाउन भन्दै धनगढी आइपुगेका छन् ।
मुख्यमन्त्रीविरुद्ध असन्तुष्ट बनेका सांसद दिवानसिंह विष्टले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् । ‘हाम्रो असन्तुष्टि अहिलेको मात्र होइन, पहिलो बजेटदेखि नै हो । सरकारले बजेट वितरण र प्रदेशको विकासमा जुन खालको विभेद गर्यो, त्यो सह्य भएन,’ उनले भने ।
स्रोतका अनुसार दिवानसिंह विष्ट लगायत असुन्तुष्ट सांसहरुलाई मन्त्री बनाउने तयारी भइरहेको छ । सांसद बिष्ट भने आफूहरुले मन्त्री पदका लागि यो कदम नचालेको बताउँछन् । ‘कांग्रेसको संसदीय दलको नेतासमेत रहनुभएका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ९ जना सांसदमध्ये एक जना डम्मरी महरा उता जानुभयो, तैपनि संसदीय दलमा दलका नेतासँग स्पष्ट बहुमत छैन । १० जना नभई सरकार सुरक्षित हुँदैन,ु उनले भने । आफूहरुले सुरुदेखि नै यो शैली सुधार्नुपर्छ भन्दै आएको जिकिर गर्दै उनले लामो समयसम्म सुनुवाइ नभएपछि अविश्वासको प्रस्तावसम्म पुग्नुपरेको प्रष्ट पारे ।
यता नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामी भने विवाद मिलाउन मुख्यमन्त्रीको कार्यकक्ष र सांसदहरूका बिचमा दौडधुप गरिरहेका छन् । मुख्यमन्त्री कार्यालय परिसरमा भेटिएका धामीले पार्टीभित्र दुई वटा गुटमध्ये एउटामा ८ र अर्कोमा ९ जना स्पष्ट देखिएको स्वीकार गरे ।
‘अहिले मन्त्री हुने चर्चा चलेकाहरूका बारेमा मलाईभन्दा पनि मुख्यमन्त्रीलाई सोध्दा राम्रो हुन्छ । उनले भने । धामीका अनुसार पार्टीका केन्द्रीय नेताहरू सह–महामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य राजन केसी यतिबेला विवाद सुल्झाउन धनगढीमै छन् । कांग्रेसका केन्द्रीय नेताहरुले बिहीबार बिहानैदेखि असन्तुष्ट पक्ष र मुख्यमन्त्रीसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।


