धनगढी । मधेससहित पाँचवटा प्रदेशका केही जिल्लामा आजबाट तातो हावाको लहर चल्ने सम्भावना छ । २१ वटा जिल्लामा तातो हावाको लहर चल्नेछ ।
बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा सप्तरीमा तातो दिन हुनेछ । कञ्चनपुर, कैलाली, नवलपरासी पूर्व, चितवन, सुनसरी, मोरङ र झापामा तातो हावाको लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यी जिल्लामा कम्तीमा ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहने पूर्वानुमान छ । केही स्थानमा ४० डिग्री सेल्सियस तापक्रम मापन भइसकेको छ ।
मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा जेठ १९ गतेदेखि अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको विभागले प्रस्ट पारेको छ । लुम्बिनी प्रदेशका तराई भूभागका एकरदुई स्थानमा अधिकतम तापक्रम ३९ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।
विभागको चेतावनी
आगामी तीन दिन कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा अबको तीन दिनसम्म मध्यम तातो लहर हुने सम्भावना रहेकाले सतर्क रहन विभागको आग्रह छ ।
कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ ।
बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको थियो । भैरहवामा ३९।१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
“तातो हावा चल्ने भनेर भनिएका जिल्लामा ४० डिग्री सेल्सियस तापक्रम सहजै पुग्ने देखिन्छ,” मौसमविद् रोजन लामिछाने भन्छन्, “त्यहाँभन्दा माथि कतिसम्म तापक्रम पुग्छ भन्ने विकास हुँदै जाने प्रणालीले देखाउनेछ ।”
मनसुन नेपाल प्रवेश नगर्दासम्म गर्मी घट्ने सम्भावना कमै रहेको उनले प्रस्ट पारे । मनसुन प्रवेश गर्नुभन्दा अगाडि वर्षा गराउने प्रणाली विकास हुने सम्भावना कम रहेको उनको भनाइ छ । “यो बीचमा बादल लागे पनि गर्मी भने कम हुने देखिँदैन,” उनले भने ।
भारतको केरलामा मनसुन प्रवेश गर्ने औसत मिति जुन १ हो । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ हो ।
भारतमा नै चार दिन ढिलो मनसुन प्रवेश गरेकाले त्यही अनुपातमा नेपालमा मनसुन प्रवेश गर्ने हो भन्ने जिज्ञासामा मौसमविद् लामिछाने भन्छन्, “अहिले नै भन्न सकिन्न । केरलाबाट मनसुन नेपाल आइपुग्ने औसत समय १० दिन हो । तर, यो ५र६ दिनमै पनि आइपुग्न सक्छ । १२र१५ दिन पनि लाग्न सक्छ ।” त्यसैले यो वर्ष औसत मिति जुन १३ भन्दा अगाडि अथवा पछाडि मनसुन नेपाल प्रवेश गर्छ भनेर अहिले नै भन्न नसकिने उनी बताउँछन् । कोसी प्रदेश हुँदै मनसुन नेपाल भित्रिन्छ ।
मौसमविद् विनोद पोखरेलले तातो हावाको लहर करिब एक हप्तासम्म रहने बताएका छन् । उनले मनसुन नेपाल आउन कम्तीम एक साता लाग्ने प्रस्ट पारेका छन् । मनसुन तीन दिन ढिला गरेर बिहीबार भारतको केरला आइपुगेको भन्दै उनले नेपाल आउन अझै एक हप्ता लाग्ने प्रस्ट पारेका छन् ।
जलवायुविज्ञ धर्मराज उप्रेतीले मनसुन भारतको केरला औसतभन्दा चाररपाँच दिन ढिलोगरी आइपुगेको बताएका छन् । “यो वर्षको मनसुन औसत मितिभन्दा चाररपाँच दिन ढिलो भारतको केरला पुगेको छ । अब यसले नेपाल छिर्ने बाटो खोल्दै जान्छ,” उप्रेती फेसबुकमा लेख्छन्, “विभिन्न मौसम केन्द्रको पूर्वानुमान हेर्दा अबको एक हप्तादेखि १० दिनमा मनसुन कोसी प्रदेश आइपुग्ने सम्भावना छ ।”
सम्भावित असर
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता हुनसक्ने विभागको भनाइ छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा बस्न विभागको आग्रह छ । “बाहिरी वातावरणमा जान हुँदैन । चर्को घाममा बाहिर निस्किनु हुँदै । हल्का लुगा ९सुतीको कपडा० लगाउनुपर्छ,” विभागले भनेको छ, “बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटक–पटक० पानी तथा झोल पदार्थ ९जुस, सर्वत, आदि० प्रशस्त मात्रामा पिउनुपर्छ ।”


