धनगढी: सुदूरपश्चिम विश्वविद्यालयमा दलीय भागबन्डाका आधारमा विभिन्न चार संकायमा ‘संकाय प्रमुख’को जिम्मेवारी दिइएको छ । सरकारको लक्ष्यविपरीत सुदूरपश्चिम विश्वविद्यालयले चार संकाय प्रमुख (डिन)मा दलीय आधारमा जिम्मेवारी दिएको हो । सोमबार विश्वविद्यालयले चार संकायमा नयाँ डिन नियुक्त गरेपछि विश्वविद्यालयभित्रै खैलाबैला मच्चिएको छ । सिनियरलाई जिम्मेवारी दिनुको साटो सुनियर त्यसमा पनि दलीय भागबन्डाका आधारमा नियुक्त गरेको भन्दै चरम आलोचना भइरहेको छ ।
सरकारले विश्वविद्यालयसहितका शैक्षिक क्षेत्रलाई राजनीतिक नियुक्तमुक्त गराउने लक्ष्य अघि सारेर सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीसहित पदमुक्त गरेर निमित्त उपकुलपतिमा यज्ञराज पाठक र निमित्त रजिस्ट्रारमा गोविन्द विष्टलाई जिम्मेवारी दिएको थियो । यसअघि कांग्रेस कोटाबाटै सुदूरपश्चिम विश्वविद्यालय रजिस्ट्रारको जिम्मेवारीमा रहेका पाठकलाई निमित्त उपकुलपति र तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेकपा) कोटाबाट नेपाल खुला विश्वविद्यालयको कुलसचिवको जिम्मेवारीमा गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले देशका सबै विश्वविद्यालय राजनीतिक भागबन्डा नियुक्तिको संस्कार हटाउँदै स्वच्छ वरिष्ठतमका आधारमा पदाधिकारीसहितको जिम्मेवारी दिने लक्ष्यविपरीत सुदूरपश्चिम विश्वविद्यालयले तत्कालीन सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमालेनिकट प्राध्यापकलाई डिनमा नियुक्त गरेपछि स्वयं कांग्रेस, एमालेदेखि नेपाली कम्युनिस्ट पार्टीसहितका अन्य राजनीतिक दलनिकट प्राध्यापक रुष्ट भएका छन् । कांग्रेसनिकट निमित्त उपकुलपति पाठकले आफूनिकट र दलीय आधारमा दुई कांग्रेस र दुई एमालेनिकट सिनियर होइन, जुनियर प्राध्यापकलाई डिनमा नियुक्त गरेपछि त्यसको विश्वविद्यालयभित्र र बाहिर आलोचना भइरहेको छ ।
कांग्रेसनिकट प्राध्यापकद्वय केशवराज भट्ट, सुरेश भण्डारीलाई व्यवस्थापन संकाय र मानविकी तथा समाजशास्त्र संकायको डिनमा नियुक्त गरेका छन् भने एमालेनिकट प्राध्यापकद्वय डा. भवानी चन्द (ठकुरी)लाई विज्ञान तथा प्रविधि संकाय र लालसिंह कार्कीलाई शिक्षाशास्त्र संकायको डिनमा नियुक्त गरेका हुन् । स्वयं कांग्रेस, एमालेनिकट प्राध्यापक नै रुष्ट रहेका वेला अन्य दलनिकट रुष्ट हुने विषय स्वाभाविक रहेको विश्वविद्यालयका स्वतन्त्र प्राध्यापकहरूको बुझाइ छ ।
विश्वविद्यालय प्राध्यापक स्रोतका अनुसार मानविकी संकायतर्फ प्राध्यापक डा. चन्दनसिंह बोहरा, व्यवस्थापन संकायतर्फ भारती जोशी, विज्ञानतर्फ प्रेमबहादुर साउद, शिक्षातर्फ उद्धव भट्टसहितका थुप्रै सिनियर प्राध्यापक हुँदाहुँदै निमित्त उपकुपतिले आफूनिकट त्यसमा पनि तत्कालीन सत्ताधारीनिकट प्राध्यापकलाई डिनको जिम्मेवारी दिएपछि थप असन्तुष्टि चुलिएको छ ।


