धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा संसदीय दलका नेता कमल बहादुर शाहविरुद्ध कांग्रेसले सुरु गरेको हस्ताक्षरको चर्चा चलिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले हस्ताक्षर सुरु गरेको छ । कांग्रेसका बहुमत सांसदहरूले दलको नेता फेर्ने उद्देश्यले ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बैठक बसेर संसदीय दलमा दर्ता गराउँदा नेकपाले भने खाली कागजमा आफ्ना सांसदहरूको हस्ताक्षर बटुलिरहेको हो ।
नेपाली कम्युनिष्ट पार्टीको संसदीय दलमा आबद्ध माननीय सदस्यहरू लेखेको कागजमा उनीहरूले हस्ताक्षर गरेका हुन् । कागजमा संसदीय दलको नाम र ती दलका सांसदहरूको नामबाहेक अन्य केही कुरा लेखिएको थिएन । ‘खाली पेपर थियो, त्यसमा केही लेखिएको छैन । दलको नेता र उपनेताप्रतिको विश्वासले हामीले हस्ताक्षर गरेका हौँ,’ नेकपाका एक सांसदले भने, ‘हाम्रो हस्ताक्षरको दुरुपयोग गर्नुहुन्न भन्ने हामीलाई विश्वास लागिरहेको छ ।’ हिजो कांग्रेसका बहुमत सांसदहरूले आफ्नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । नेकपाले पनि आवश्यक पर्दा उनीहरूलाई साथ दिने रणनीति बनाएको थियो ।
कांग्रेसका १८ सांसदमध्ये लामो समयदेखि प्रकाश देउवा अमेरिका छन् । उनको अनुपस्थितिमा ९ सांसद नै बहुमत हुने गरी हिजो नै मानबहादुर रावल र दिवानसिंह विष्टले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अन्तिम अवस्थामा हस्ताक्षर गरेकी रक्षा महराले आफ्नो समर्थन नरहेको बताएपछि कांग्रेसका मुख्यमन्त्रीविरुद्ध बहुमत जुटाउन सकस देखिएको छ । यता नेकपाले भने कांग्रेसमा मुख्यमन्त्रीविरुद्ध बहुमत जुटे त्यो समूहसँग मिलेर सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल बनाउने रणनीति बनाइरहेको छ । त्यसैका लागि खाली कागजमा हस्ताक्षर गरिएको नेकपाकै एक सांसदले बताए ।
‘कांग्रेसभित्र पनि नीति तथा कार्यक्रम फेल गर्ने तयारी भइरहेको छ । हाम्रो र उहाँहरूको संख्या पु¥याउँदा नीति तथा कार्यक्रम फेल गर्न सकिन्छ भनेर हस्ताक्षर भइरहेको थियो,’ ती सांसदले भने, ‘अहिले कांग्रेसले बहुमत जुटाउनेबारे थप कसरत गरिरहेको छ । हामीले हस्ताक्षर गरिसकेका छौँ ।’ उनका अनुसार केही सांसदहरूलाई कुन प्रयोजनका लागि हस्ताक्षर गराइएको हो भन्नेबारे पनि जानकारी छैन ।
‘केही सांसदहरूले संसदीय दलको नेतालाई किन हो भनेर पनि प्रश्न गर्नुभएको थियो । सल्लाहमै भइरहेको छ, यसो गर्नुहोस् भनेपछि हामीले हस्ताक्षर गरेका हौँ,’ ती सांसदले भने । नेकपा संसदीय दलका नेता खगराज भट्टले नीति कार्यक्रम र बजेटको सन्दर्भमा लिखित धारणा राख्नुपर्ने हुनसक्ने भन्दै हस्ताक्षर संकलन गरिएको बताए । तर, सरकार फेरबदलबारे कुनै चलखेल नेकपाबाट नभइरहेको उनको प्रस्टोक्ति थियो ।
‘नीति कार्यक्रम र बजेटको सन्दर्भमा संसदीय दलले कहिलेकाहीँ लिखित मत दर्ज गर्नुपर्ने हुन्छ । यति माननीय सरकारका विपक्षमा छन् भन्ने पनि देखाउनु पर्ने हुनसक्छ । त्यसैका लागि हामीले हस्ताक्षर लिएका हौँ,’ उनले भने, ‘सरकार फेरबदलको खेलमा हामी छैनौँ । कांग्रेस आफ्नै संकटले सरकार ढल्दैछ, हामीले त्यसमा केही गर्न आवश्यक छैन ।’
सुदूरपश्चिममा साविक माओवादी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरू हाल नेकपामा छन् । उनीहरूको संख्या २० पुग्छ । कांग्रेसका बहुमत सांसदहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस सांसदहरूको संख्या र नेकपाको सांसद संख्या जोड्दा सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार निर्माणका लागि आवश्यक अंकगणित पुग्ने देखिन्छ ।
यसै सन्दर्भमा नेकपाले गरेको हस्ताक्षर संकलन नीति तथा कार्यक्रम र बजेटबारे धारणा सार्वजनिक गर्नका लागि मात्रै नभई सरकार हेरफेरसम्मको रणनीतिक तयारीका रूपमा समेत हेरिएको छ ।


