धनगढी: धनगढी–६ लेन सडकमा चलिरहेको माइक्रोबाट निस्केर भिडियो बनाउने चालकलाई प्रहरीले कारबाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो करिब एक महिनाअघि खिचिएको थियो भने करिब एक हप्ताअघि पोस्ट भएपछि व्यापक रूपमा फैलिएको थियो।
भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा हायस माइक्रोका साहुजीमार्फत भारतमा रहेका चालकलाई सम्पर्कमा ल्याइएको र त्यसपछि चालकलाई नियन्त्रणमा लिएर जेठ १३ गते कारबाही गरिएको प्रहरीले जनाएको छ। “जब ध्यानभन्दा प्रदर्शन ठूलो बन्न थाल्छ, सडकमा हिँड्ने सबैले त्यसको मूल्य चुकाउनुपर्छ। जिम्मेवार भएर सवारी चलाऔं। एउटा लापरवाही क्षणले धेरैको जीवन बदल्न सक्छ।” भन्ने सन्देशसहित चालक कारबाहीमा परेको जानकारी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको फेसबुक पेजमा पोस्ट गरिएको छ।
चलिरहेको सवारीबाट जोखिमपूर्ण तरिकाले बाहिर निस्केर भिडियो बनाउनु ट्राफिक नियमविपरीत हुनुका साथै दुर्घटनाको कारण बन्न सक्ने भन्दै प्रहरीले यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ।


