कैलाली । कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन् । कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो।
आज पनि दुई किशोरी बिरामी परेका कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले बताए। गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ। “गर्मी बढेपछि विद्यालयमा बिहानको प्रार्थना बन्द गरिएको छ,” उनले भने, “एउटै कक्षामा सयौँ विद्यार्थी छन् । गर्मीले दैनिक रूपमा विद्यार्थी बिरामी हुन थालेपछि बिरामीलाई आराम कक्षमा आराम गराएर घर पुरयाउने गरिएको छ।”
गर्मी बढेपछि दिउँसोको समयमा विद्यार्थीलाई अध्ययनमा समेत समस्या हुन थालेको छ । टीकापुरका कतिपय विद्यालयमा एउटै कक्षामा धेरै विद्यार्थी सङ्ख्या हुने तर पङ्खा थोरै हुँदा गर्मीमा अध्ययनमा समस्या हुन थालेको उनीहरु बताउँछन्। गर्मीका समयमा विद्युत् अनियमित हुँदा विद्यार्थीलाई बढी समस्या हुने गरेको छ।
कैलालीको तापक्रम ४० डिग्री सेल्सियस माथि पुगेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका न्याय मौसम विज्ञान सहायक वीरेन्दप्रसाद कुशवाहका अनुसार सोमबार कैलालीको तापक्रम ४१.४ डिग्री सेल्सियस मापन भएको थियो भने आइतबार ४० डिग्री सेल्सियस पुगेको थियो। आज अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
चालिस डिग्री सेल्सियस माथि तापक्रम पुगेपछि पठनपाठन प्रभावित हुन थालेको छ । खड्ग स्मृति माविका अमित परियार एउटै कक्षामा विद्यार्थी सङ्ख्या ८० माथि भएकाले अध्ययनमा समस्या भइरहेको, विद्यार्थी बिरामी हुने, बेहोस हुने जस्ता समस्या भएको बताउँछन् । “कतिपय साथी गर्मी सहन नसकेर बीचमै पढाइ छोडेर घर जाने गरेका छन्,” उनले भने, “टाउको दुख्यो, चक्कर आयो भन्ने साथी बढेका छन्।”
राष्ट्रिय मावि मनिकापुरका अनुष्का चौधरी एउटै कक्षामा धेरै विद्यार्थी, पङ्खाको सङ्ख्या कम भएको, बक्ति जाँदा अझै कठिन हुने गरेको बताउँछिन् । “बक्ति गएका बेला असिनपसिन भइन्छ,” उनले भनिन्, “केही वर्षअघि यस्तो सहनै नसकिने गर्मी हुँदैनथ्यो । एक सातायता गर्मी सहन नसकिने भएको छ ।”
त्रिभुवन माविका विद्यार्थी सञ्जिता चौधरीले विद्यालयका पङ्खा गतिला नभएकाले गर्मीमा समस्या हुने गरेको बताइन् । “पङ्खा छन् तर राम्रो हावा दिने खालका छैनन”, उनले भनिन्, “बिजुली अनियमित हुँदा कठिन हुन्छ ।”
कैलालीमा केही दिनअघि पनि तालिमका क्रममा सशस्त्र प्रहरी बलका जवान ‘हिट स्ट्रोक’का कारण बेहोस भएका थिए । उनीहरुको अहिले काठमाडाैँमा उपचार भइरहेको छ।


