धनगढी: धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले साइपाल हिमालको बेसक्याम्प रानीसैन र त्यसको नजिकको लाम्पाटा क्षेत्रमा देखिएको सीमा विवादका कारण पर्यटक र त्यहाँका स्थानीय सर्वसाधारणले दुःख पाउन नहुने बताएका छन् । धनगढीमा आज पत्रकार सम्मेलन गर्दै उनले त्यहाँको सीमा विवादको समस्या समाधान गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।
उनले जैविक विविधताले भरिपूर्ण रानीसैन नेपालकै उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए । रानीसैनको प्रचारप्रसारका लागि त्यहाँ गइरहेको धनगढी उपमहानगरको टोलीलाई सीमा विवादका कारण हुम्लाका स्थानीयले हालै फर्काइदिएका थिए भने हिमाली गाउँपालिकाको टोलीमाथि आक्रमण नै गरेका थिए । घटनापछि त्यहाँ जाने पर्यटकका थुप्रै समूह फर्केका थिए । ‘विवादका कारण आमनागरिक र पर्यटकले दुःख पाउनुहुँदैन । यसको समाधान गरिनुपर्छ,’ नगरप्रमुख हमालले भने, ‘यो नेपालकै एक नम्बर गन्तव्य बन्न सक्छ । आमनेपालीले त्यससबाट फाइदा लिन सक्छन् ।’ उनले त्यहाँ राज्यको उपस्थिति नदेखिएको बताएका छन् ।
राज्यको उपस्थिति नहुँदा जो बलियो छ उसैले मनपरी गर्ने गरेको देखिएको हमालले बताए । ‘त्यहाँ राज्यको उपस्थिति बिल्कुल छैन । न फोन लाग्ने रहेछ,’ उनले भने, ‘पहिलेदेखि नै थिचोमिचो हुने रहेछ ।’ सरकारको नक्सामा उक्त क्षेत्र सुदूरपश्चिममै देखाएकाले रानीसैन सुन्दर छ भनेर देखाउन आफूहरू रानीसैन जान खाजेको हमालले बताए । ‘हामी न लडाइँ गर्न गएका थियौँ, न विवादबारे थाहा थियो,’ उनले भने, ‘प्रचारप्रसारमा बल पुगोस् भनेर प्रयास गरेका हौँ । जुन अहिलेसम्म गुमनामजस्तै छ ।’ घटनाबारे प्रशासनले आफूलाई जानकारी नगराएको पनि नगरप्रमुख हमालले बताए ।
हुम्लाका स्थानीयले गत ३ गते नै वडासदस्य पेमा गुरुङको परिवारलाई मरणासन्न हुने गरी कुटपिट गर्दै उनको घर कब्जामा लिएर बसे पनि प्रशासनले यसबारे सूचना नदिएको उनले बताए । ‘घटना ३ गते नै भएको रहेछ । वडासदस्यको परिवारलाई कुटेर बन्दी बनाएर राखिएको रहेछ । त्यही घरमा मेस चलाएर बसेका रहेछन्,’ उनले भने, ‘यस्तो सूचना पाएको भए हामी त्यहाँ जाने थिएनौँ । धनगढी उपमहानगरले थालेको सुदूरपश्चिम चिनाउने अभियान निरन्तर चलिरहने हमालले बताएका छन् । पत्रकार सम्मेलनमा उपमहानगरका सूचना प्रविधि अधिकृत अनुप भट्टले अभियानअन्तर्गत उपमहानगरको टोली लाम्पाटा पुग्दासम्मको विवरण प्रस्तुत गरेका थिए ।


