धनगढी : धनगढीमा मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था को अध्यक्षमा गोपालराज पाठक विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार पाठकले निकटतम प्रतिद्वन्द्वी केशव मिश्रलाई ३ सय १५ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा विजयी भएका पाठकले ४ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केशव मिश्रले ४ हजार ४ सय ६९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा पनि पाठक प्यानलकै उम्मेदवार उत्तम जोशी विजयी भएका छन् । अन्य पदहरूको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ । प्रारम्भिक मत परिणाम अनुसार सदस्य पदहरूमा मिश्रित नतिजा आउने देखिएको छ । केही पदमा पाठक समूह अगाडि देखिएको छ भने केहीमा प्रतिद्वन्द्वी समूहका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
सहकारीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । अध्यक्षमा विजयी भएपछि प्रतिक्रिया दिँदै पाठकले सहकारीको विश्वास जोगाउँदै संस्थालाई अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहकारीको आर्थिक सुदृढीकरण, सेवा विस्तार र सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।


