धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीको केन्द्रीय नेतृत्व सभापति गगन थापा पक्षप्रति आक्रोश पोख्दै उनीहरूले पार्टीमा भ्रम फैलाएको आरोप लगाएका छन्। धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बलायरले नयाँ भनाउँदा नेताहरूले पार्टीको जग र बलिदान नबुझेको भन्दै कडा चेतावनी दिए। सम्बोधनका क्रममा सभापति बलायरले सभापति गगन थापाको नाम नलिई उनीप्रति लक्षित गर्दै कडा व्यङ्ग्य गरे।
‘२०४० सालमा जन्मेकाहरूले बीपी कोइरालासँग बनारसमा भेटेको गफ दिइरहेका छन्। यो अप्राकृतिक कुरा हो, थापाले पार्टी सदस्यता नवीकरण र लेवीका विषयमा दिएको अभिव्यक्तिप्रति हाम्रो आपत्ति छ, हिजो महामन्त्री हुँदा नवीकरण गर भनेर परिपत्र गर्ने, आज त्यही विषयमा भ्रम फैलाउने रु यस्तो रंगीन कुराले पार्टी चल्दैन,’ सभापति बलायरले भने। भेलामा सम्बोधनको क्रममा बलायर निकै आक्रोशित भए। ‘हामी शेरबहादुर देउवाको प्रेरणाले कांग्रेसमा लागेका हौँ। कसैको घमन्डले कांग्रेस चल्दैन’, बयलायरले भने।
पार्टीभित्र अनुशासनको कुरा गर्दै बलायरले प्रदेश सभापतिको निर्देशन र पार्टीको मापदण्ड नमान्नेहरूलाई पार्टीबाट निकाल्ने चेतावनी दिए। ‘जरा उखेल्नेहरूलाई हामीले हेरेर बस्दैनौँ। हाम्रो मापदण्ड जसले मान्दैन, उसलाई फ्यात्त फालिदिन्छौँ,’ उनले भने। कांग्रेसका कार्यकर्ताले रगत, पसिना र छोराछोरीको गाँस काटेर पार्टी बचाएको भन्दै उनले नेताहरूलाई पदको लोभ नगर्न सुझाव दिए। ‘कांग्रेस कमजोर भएको दिन देशको राष्ट्रियता संकटमा पर्छ। त्यसैले हामीले कांग्रेसलाई सिद्ध्याउने खेलविरुद्ध उभिनु परेको हो।’, बलायरले भने।
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा चलिरहेको छ। कांग्रेस प्रदेश समिति आयोजक रहेको यो भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू सहभागी छन् । पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित यो प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू भेलामा सहभागी छैनन् । प्रदेश सभापति वीरबहादुर बलायरको अध्यक्षतामा भइरहेको भेलामा प्रमुख अतिथि निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदलाई बनाइएको छ।
भेलामा पूर्वमन्त्री रमेश लेखक, मोहनबहादुर बस्नेत, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, कुन्दन काफ्ले, ईश्वरी न्यौपाने, रामजनम चौधरी, अर्जुनजंगबहादुर सिंह, गोविन्दबहादुर शाह, रणबहादुर रावल, नैनसिंह महर, निर्प ओड, विद्या तिमिल्सिनालगायत अतिथि छन्। ब्यानरमा निवर्तमान सभापति देउवाको तस्बिर राखिएको छ भने सभापति गगन थापाको तस्बिर छैन ।
भेलामा जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सांसदलगायत सहभागी छन् । संस्थापन पक्षका नेताहरूको सहभागिता छैन ।


