धनगढी: नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाजुराको नेतृत्व प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले सम्हालेकी छन् । महिला प्रहरी अधिकृत बोहराले बिहीबार औपचारिक रूपमा कार्यालयको कमान्ड सम्हाल्दै बाजुरा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
जिल्ला प्रहरी कार्यालय बाजुरामा आयोजित कार्यक्रममा प्रहरी कर्मचारीहरूले नवआगन्तुक डीएसपी बोहरालाई स्वागत गरेका थिए । कार्यक्रममा कार्यालयबाट जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भई जान लागेका प्रहरी नायव उपरीक्षक इकबाल हवारीलाई सम्मानसहित बिदाइ गरिएको थियो ।
बिदाइ कार्यक्रममा बाजुरामा कार्यकालका क्रममा डीएसपी हवारीले शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा समुदाय–प्रहरी साझेदारीलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरिएको थियो । उनलाई मायाको चिनो प्रदान गर्दै सहकर्मी प्रहरी कर्मचारीहरूले सफल कार्यकालको शुभकामना दिएका थिए ।

नवआगन्तुक डीएसपी बोहराले बाजुराको भौगोलिक अवस्था तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नागरिकको विश्वास जित्ने गरी काम गर्ने बताइन् । उनले प्रहरी संगठनलाई अझ जिम्मेवार, पारदर्शी र सेवामुखी बनाउँदै समुदायसँगको समन्वयलाई प्राथमिकतामा राख्ने उल्लेख गरिन् ।
कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।


