काठमाडौं: सरकारी सेवामा प्रवेश गर्ने सपना बोकेका युवाहरूका लागि काठमाडौंको कीर्तिपुरमा नयाँ शैक्षिक संस्था “सौर्य एकेडेमी” सञ्चालनमा आएको छ। सुदूरपश्चिमको बैतडी जिल्ला सुर्नया गाउँपालिका वडा नं. २ घर भएका युवा उद्यमी अशोक विष्टले युवाहरूलाई लोकसेवा तथा सुरक्षा निकायको तयारीमा सहज बनाउने उद्देश्यसहित उक्त एकेडेमी स्थापना गर्नुभएको हो। हाल सौर्य एकेडेमीमार्फत लोक सेवा आयोग, शिक्षक सेवा आयोग तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न पदहरूको तयारी कक्षा सञ्चालन भइरहेका छन्। विशेष गरी नेपाली सेनाको सैन्य पदका लागि आवश्यक शारीरिक तथा लिखित परीक्षाको विशेष प्रशिक्षणका कारण पछिल्लो समय धेरै युवाहरूको आकर्षण यस एकेडेमीतर्फ बढ्दै गएको छ।
हालै सम्पन्न एक कार्यक्रममा बैतडीका प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारी को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै एकेडेमीका सञ्चालक अशोक विष्टले आफ्नो उद्देश्य केवल व्यवसाय सञ्चालन मात्र नभई युवाहरूलाई राष्ट्र सेवामा लाग्न प्रेरित गर्नु रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “प्राविधिक अनुभवलाई शिक्षा र प्रशिक्षणसँग जोडेर युवाहरूलाई राष्ट्र सेवामा लाग्न प्रेरित गर्नु नै मेरो मुख्य लक्ष्य हो। आजका युवाहरूमा क्षमता छ, आवश्यकता केवल सही मार्गदर्शन र अवसरको हो।”
कार्यक्रममा सांसद भण्डारीले विष्टको प्रयासको खुलेर प्रशंसा गर्दै सुदूरपश्चिम जस्तो दुर्गम क्षेत्रबाट राजधानी आएर शिक्षा र प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल हुनु अन्य युवाहरूका लागि प्रेरणादायी उदाहरण भएको बताउनुभयो। उहाँले युवाहरूलाई सीप, अनुशासन र प्रतिस्पर्धात्मक क्षमतासहित अघि बढाउन यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो।
प्रविधिबाट शिक्षासम्मको यात्रा
अशोक विष्टको व्यावसायिक यात्रा संघर्ष, अनुभव र निरन्तर मेहनतले भरिएको छ। सूचना प्रविधिप्रति सानैदेखि रुचि राख्ने विष्टले आफ्नो उच्च शिक्षा काठमाडौंस्थित मदन भण्डारी मेमोरियल कलेज बाट पूरा गर्नुभएको हो। उहाँले सोही कलेजबाट सूचना प्रविधि विषयमा डिप्लोमा अध्ययन गरी आफ्नो प्राविधिक आधार बलियो बनाउनुभएको थियो।
शिक्षा पूरा गरेपछि उहाँले म्युजिक रेकर्डिङ स्टुडियोदेखि राष्ट्रिय सञ्चारमाध्यमसम्म विभिन्न क्षेत्रमा काम गर्दै अनुभव बटुल्नुभयो। उहाँले सगरमाथा टेलिभिजन मा एमसीआर, पीसीआर तथा आईटी विभागमा लामो समय जिम्मेवारी सम्हाल्नुभएको थियो। सञ्चार तथा प्रविधि क्षेत्रमा देखाएको दक्षताका कारण उहाँले प्रधानमन्त्री कार्यालयको आईटी शाखामा समेत काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो।
सरकारी संरचना, प्रशासनिक प्रक्रिया तथा प्रविधिको प्रयोगबारे प्रत्यक्ष अनुभव हासिल गरेपछि विष्टले युवाहरूलाई प्रतिस्पर्धात्मक परीक्षाका लागि गुणस्तरीय प्रशिक्षण आवश्यक रहेको महसुस गर्नुभयो। सोही सोचलाई मूर्त रूप दिँदै उहाँले कीर्तिपुरमा सौर्य एकेडेमी स्थापना गर्नुभएको हो।
युवाहरूको भरोसायोग्य गन्तव्य बन्दै
अहिले सौर्य एकेडेमी सरकारी सेवाको तयारी गर्ने युवाहरूका लागि भरोसायोग्य केन्द्रका रूपमा विस्तार हुँदै गएको छ। यहाँ अनुभवी प्रशिक्षकद्वारा लिखित परीक्षा, अन्तर्वार्ता तथा शारीरिक प्रशिक्षणसमेत प्रदान गरिन्छ। विद्यार्थीहरूलाई अनुशासन, समय व्यवस्थापन तथा आत्मविश्वास विकासमा समेत विशेष ध्यान दिइने सञ्चालक विष्ट बताउनुहुन्छ। सुदूरपश्चिमबाट राजधानी आएर संघर्षका बीच आफ्नो पहिचान स्थापित गरेका अशोक विष्ट अहिले धेरै युवाहरूका लागि प्रेरणाका पात्र बनेका छन्। शिक्षा, प्रविधि र प्रशिक्षणलाई एकसाथ जोडेर युवाहरूलाई सक्षम बनाउने उहाँको प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।


