धनगढी: धनगढीमा मुख्य कार्यालय रहेको नवजिवन सहकारी संस्थाको सञ्चालक समिति सदस्यमा चन्द्रदेव भट्टले एकल उम्मेदवारी दिएका छन् । आगामी जेठ ९ गते हुने नवजीवन सहकारी संस्था लिमिटेडको निर्वाचनमा उम्मेदवार बनेका भट्टले शीतभण्डार निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
उनले भने ‘मेरो पहिलो प्राथमिकता सेवाकेन्द्रसँगै जोडेर शीतभण्डार निर्माण गर्ने हुनेछ । तरकारी तथा फलफूल भण्डारण गरेर बेमौसमी रुपमा सस्तो किसानलाई फाइदा हुने किसिमले काम गर्नुपर्छ ।’ उनले सहकारीका सबै सेवा केन्द्रमा एम्बुलेन्सको व्यवस्था गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै त्यसमा जोड दिइने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै सबै शेयर सदस्यको अपनत्व गर्ने सहकारी हुनुपर्ने बताउँदै उनले त्यसका लागि आफू निरन्तर लाग्ने बताए । उनले सहकारीको अवधारणलाई विकसित गर्नुपर्ने बताए । उनले भने ‘हामी खुला सिमानामा बस्छौँ । कमसेकम ५० औं विघा जमिन लिजमा लिने,किसानलाई उत्पादनमुखी बनाउने,तरकारीखेती,धानखेतीमा जोड दिने र किसानले उत्पादन गरेको चिज खरिद गर्ने जिम्मा सहकारीले लिनुपर्छ भन्ने मेरो मान्यता हो ।’
उनले निर्वाचनमा विजयी भए सेयर सदस्यहरूको भावना र आवश्यकतालाई आधार बनाएर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले विगतदेखि विभिन्न संघसंस्थामा काम गरेको अनुभवका आधारमा नवजीवन सहकारी संस्थालाई अझ उचाइमा पु¥याउन आफू सक्षम रहेको दाबी गरे ।
उनले भने ‘यदी म निर्वाचित भएँ भने समग्र शेयर सदस्यहरूको भावना, आवश्यकता र अग्रजहरूको सल्लाहअनुसार काम गर्ने छु ।’


