धनगढी:आगामी मे ३१ मा सुदूरपश्चिम नेपाली समाज, जापानको ८ औँ अधिवेशन हुने भएको छ । जापानमा रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच एकता, सहकार्य तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको समाजले जनाएको छ ।
समाजका अनुसार अधिवेशन २०२६ मे ३१ तारिख आइतबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम JICA Global Plaza मा आयोजना हुने तय गरिएको छ ।
प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति तथा सुदूरपश्चिमेली पहिचानको संरक्षण र प्रवर्द्धनमा समाजले निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्दै आयोजक समितिका सदस्य निर्मल खड्काले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । आयोजकका अनुसार सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई भव्य र सफल बनाउन थप सहयोग पुग्ने विश्वास लिइएको छ ।


