काठमाडौं: सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) का ६ जना नयाँ नायब महानिरीक्षक (डीआईजी) तथा ७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई फूली लगाइएको छ। आज सोमबार प्रधान कार्यालय हलचोकमा आईजीपी नारायणदत्त पौडेलले हालै बढुवा भएका उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका हुन्।
गृह मन्त्रालय बढुवा समिति सचिवालयले गत वैशाख ११ गते गरेको सिफारिसअनुसार डीआईजीमा एसएसपीहरू दिगविजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की बढुवा भएका थिए। त्यसैगरी एसएसपीमा बढुवा हुने एसपीहरूमा दीपककुमार थापा, सुधीर सुबेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की रहेका थिए।
उनीहरू बढुवा सिफारिस हुँदा राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक रहेका थिए। उनको अवकाशपछि नवनियुक्त आईजीपी पौडेलले बढुवा भएका अधिकृतलाई फुली लगाइदिएका हुन्। अब केही दिनमै उनीहरूको पदस्थापन हुने छ।


