धनगढी: आसन्न मनसुनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा विपद् पूर्वतयारीका काम तीव्र पारिएका छन् । सम्भावित बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले प्रदेशका विभिन्न जिल्लामा विपद् उद्धार बेस स्थापना गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयका अनुसार तराईदेखि पहाडी जिल्लासम्म रणनीतिक स्थान छनोट गरी उद्धार बेस सञ्चालनमा ल्याइएको हो । ती बेसमा आवश्यक उद्धार सामग्रीसहित तालिमप्राप्त जनशक्ति खटाइएको छ, जसले विपद्का बेला तत्काल उद्धार तथा सूचना व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
कैलालीको धनगढी, लम्कीचुहा र चुरेमा तीन वटा बेस स्थापना गरिएको छ भने कञ्चनपुरको बेलौरी, डडेल्धुराको सदरमुकाम र जोगबुढा, बैतडीको सदरमुकाम र पुर्चौडी, दार्चुलाको सदरमुकाम र बलाँच, बझाङको सदरमुकाम र कालंगा, डोटीको सदरमुकाम र बुडर, अछामको साँफे र बुढाबगर तथा बाजुराको मार्तडी र कोल्टीमा विपद् उद्धार बेस सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार विपद् सुरक्षा बेस तथा मनसुन प्रतिकार्य टोलीले नियमित सुरक्षा जिम्मेवारीसँगै उद्धार तथा राहत कार्यमा केन्द्रित भएर काम गर्नेछन् । प्रदेशभर ११ जना गोताखोरलाई तयारी अवस्थामा राखिएको छ भने ३०० जना विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीलाई आवश्यकताअनुसार विभिन्न जिल्लामा परिचालन गरिने जनाइएको छ । स्थानीय तहसँग समन्वय गरेर समुदायस्तरमा विपद् स्वयंसेवक तालिम सञ्चालन गरिनुका साथै वडा तहसम्म सूचना सहज रूपमा पुग्ने गरी विपद् सूचक समूह गठन गरिएको छ ।
मनसुन सुरु हुनुअघि नै सुरक्षा निकायले पूर्वतयारीलाई प्रभावकारी बनाउँदै लगेपछि सम्भावित प्राकृतिक विपद्बाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वयलाई थप प्रभावकारी बनाउन सके विपद् व्यवस्थापन अझ प्रभावकारी हुने सरोकारवालाको विश्वास छ ।


