धनगढी । नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी सुरु भएको छ । ९ जेठमा हुने चुनावका लागि तीन वटा समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । शुक्रबार अध्यक्षका उम्मेदवार गोपालराज पाठकको समूहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । पाठकले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा ९ बुँदा अघि सार्दै मत मागिएको छ । पाठक समूहले सुशासन, उत्पादन र डिजिटल अभियानलाई प्राथमिकतामा राखेको छ ।
संस्थागत सुशासन कायम गर्न शून्य सहनशीलताको नीति अपनाउने, उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्ने, निष्क्रिय कर्जा असुलीलाई प्रभावकारी बनाउने र सदस्य हितका कार्यक्रमलाई प्रविधिमैत्री बनाउने जनाएको छ । त्यस्तै, नवजीवन खाद्य उद्योग विस्तार, लघुवित्त कार्यक्रम विस्तार, कर्मचारीलाई प्रविधिमैत्री बनाउने तथा अनलाइन कारोबारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि समूहले व्यक्त गरेको छ । समूहले सहकारीलाई कारोबार र सुशासनको हिसाबले देशकै उत्कृष्ट संस्थामध्ये एक बनाउने लक्ष्य लिएको जनाएको छ ।
हेर्नुहोस् प्रतिबद्धता पत्र


