धनगढी: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा यहाँ गहुँ खरिद सुरु गरेको छ । खाद्यको प्रादेशिक कार्यालय धनगढीले जिल्लाको टीकापुर, मसुरिया र धनगढीको मोहनपुर डिपोमा किसानबाट गहुँ खरिद गरिरहेको छ। सरकारले यस वर्ष गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ९४५ रुपैयाँ तोकेको छ । खाद्यले भने प्रतिक्विन्टल चार हजार २५० रुपैयाँमा खरिद गरिरहेको छ। किसानलाई प्रोत्साहन होस् र निर्धारित कोटाअनुसार गहुँ खरिद गर्न सकियोस् भनेर समर्थन मूल्यभन्दा बढीमा गहुँ खरिद गरिरहेको खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले बताए ।
खाद्यले यसपालि कैलालीमा १० हजार क्विन्टल गहुँ खरिदको कोटा निर्धारण गरेको छ। सोमबारसम्म नौ सय २१ क्विन्टल गहुँ खरिद भएको प्रादेशिक कार्यालयले जानकारी दिएको छ । गत वर्ष ढिलो गरी खरिद सुरु गर्दा र बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्यले गत वर्ष यहाँ साढे ५२ क्विन्टल गहुँ मात्र खरिद गर्न सकेको थियो । अहिले बजार मूल्यलाई समेत आधार मानेर समर्थनभन्दा बढी मूल्यमा खरिद गरिरहेको खाद्यले जनाएको छ ।
यहाँ सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गल्लामा कारोबार भइरहेकाले पनि खाद्यले मूल्य बढाउनुपरेको हो । ‘किसानलाई प्रोत्साहन पनि हुने र कोटाअनुसार गहुँ पनि खरिद गर्न सकियोस् भनेर समर्थन मूल्यभन्दा बढाएर खरिद गर्ने निर्णय गरेका हौँ,’ थापाले भने, ‘गहुँ खरिदको कोटा पूरा हुने अपेक्षा गरेका छौँ ।’ बजार मूल्य र समर्थन मूल्य तुलना गरेर खाद्यले दर निर्धारण गर्न सक्ने व्यवस्था रहेको उनले बताए ।
कृषकका अनुसार कैलालीमा अहिले गहुँ प्रतिक्विन्टल चार हजार दुई सयदेखि चार हजार ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ। सरकारले गत २९ चैतमा गहुँको समर्थन मूल्य निर्धारण गरेको थियो । समर्थन मूल्य तोक्न ढिलाइ भएकाले खरिद पनि ढिला सुरु गरिएको खाद्यको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ । खाद्यले मोहनपुरमा १५, टीकापुरमा १६ र मसुरियामा १७ वैशाखबाट गहुँ खरिद सुरु गरेको हो ।
खाद्यले किसानलाई मोबाइलमा म्यासेज गरेर गहुँ खरिद सुरु भएको जानकारी गराइरहेको छ । गत सिजनमा खाद्यका डिपोमा धान बेच्न आएका एक हजार सात सय किसानलाई प्रादेशिक कार्यालयले म्यासेजमार्फत गहुँ बिक्रीका लागि आउन खबर गरिरहेको थापाले जानकारी दिए । यहाँ खरिद गरिएको गहुँ खाद्यले खाद्यान्न अभाव भएका जिल्लामा उपभोक्तालाई बिक्री गर्ने गर्छ ।


