धनगढी: धनगढीका व्यवसायी दिनेशराज भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका भण्डारीको पार्टी प्रवेशसँगै धनगढीको स्थानीय राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। रास्वपा कञ्चनपुर क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्र महताले सामाजिक सञ्जालमार्फत भण्डारीलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन्। उनले भण्डारीसँगको तस्बिर सार्वजनिक गर्दै पार्टीले उनलाई औपचारिक रूपमा भित्र्याएको उल्लेख गरेका हुन्।
भण्डारी धनगढीस्थित बालमिकी स्कुलका अध्यक्षसमेत रहँदै आएका छन्। साथै, उनी यसअघि तत्कालीन विवेकशील साझा पार्टीमा सक्रिय थिए। गोपाल हमाल सुदूरपश्चिम संयोजक हुँदा भण्डारी सह–संयोजकको जिम्मेवारीमा रहेका थिए। राजनीतिक रूपमा पनि उनी सक्रिय रहँदै आएका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका भण्डारीले त्यसयता पनि विभिन्न सामाजिक तथा आर्थिक गतिविधिमा निरन्तर संलग्नता जनाउँदै आएका छन्।
कैलाली उद्योग वाणिज्य संघमा गोपाल हमाल अध्यक्ष हुँदा भण्डारी महासचिवको जिम्मेवारीमा थिए भने त्यसपछि उनी स्वयं संघको अध्यक्ष बनेका थिए। व्यवसायिक नेतृत्वबाट स्थापित छवि बनाएका भण्डारीको रास्वपा प्रवेशलाई पार्टीका लागि सुदूरपश्चिममा संगठन विस्तारको रणनीतिसँग जोडेर हेरिएको छ।
यता, भण्डारीको पार्टी प्रवेशसँगै आगामी स्थानीय तह निर्वाचनको चर्चा समेत चुलिएको छ। धनगढी उपमहानगरपालिकाको मेयरका रूपमा उनलाई सम्भावित उम्मेदवारका रूपमा हेरिन थालेको छ। हालका मेयर गोपाल हमालपछि रास्वपाले भण्डारीलाई अगाडि सार्ने तयारी गरिरहेको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ। यद्यपि, पार्टीले औपचारिक रूपमा उम्मेदवारीबारे कुनै निर्णय सार्वजनिक गरिसकेको छैन। तर भण्डारीको प्रवेशले धनगढीको आगामी चुनावी समीकरणमा प्रभाव पार्ने संकेत देखिएको छ।


