दोधारा चाँदनी: कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगिताको आज कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधीश राजेन्द्र भण्डारीले उद्घाटन गरे। प्रतियोगितामा ‘बी’ लेभलका ४८ तथा भेट्रानतर्फ ३२ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक शेरबहादुर सिंहले जानकारी दिए। खेलकुदको माध्यमबाट बाह्रसिङ्गाको प्रमुख वासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्न प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको उनले बताए।
प्रतियोगितामा ‘बी’ लेभलतर्फ पहिलो हुनेले रु ४४ हजार ४४४, दोस्रो हुनेले रु २२ हजार २२२ र तेस्रो हुनेले रु ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। त्यस्तै, भेट्रानतर्फ पहिलो हुनेलाई रु १५ हजार ५५५, दोस्रो हुनेलाई रु ७ हजार ५५५ र तेस्रो हुनेलाई रु ५ हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
उद्घाटन समारोहमा कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह, भीमदत्त नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बम, कञ्चनपुर ब्याडमिन्टन सङ्घका अध्यक्ष राहुल भट्टलगायत उपस्थित थिए।


