धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रदेशमा विगतका जस्तो आपराधिक समूह सक्रिय नरहेको दाबी गरेको छ। सर्वसाधारणहरूले यहाँ अन्डरग्राउन्ड ग्याङहरूको त्रास रहेको बताउँछन्। प्रहरी प्रशासनले भने प्रदेशमा कुनै पनि सङ्गठित अपराधी सक्रिय नरहेको दाबी गरेको हो।
अहिले कैलाली कारागारमा यस्ता अपराधी सङ्गठनहरूबिच कुनै पनि सम्पर्क नहोस् भनेर जेल सरुवा लगायतका काममा कडाइ गरेको छ। पहिला कैलालीको दक्षिणी पूर्वी क्षेत्र अपराधीको हब जस्तै बनेको थियो। अहिले केहि समय यता त्यहाँ अपराधी घटना हत्या हिंसाका घटना डर लाग्दा घटेका छैनन्। प्रहरीका आफूहरू अपराधी समूह सक्रिय हुन नदिन विशेष रणनीति अपनाइएको बताउँछ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्ट अपराधीहरूलाई टाउको उठाउन नदिने दाबी गर्छन् । ‘अहिले त्यस्तो सक्रिय रूपमा कोही पनि छैनन् । हामीले उनीहरूलाई सक्रिय हुन दिएका छैनौँ र दिने पनि छैनौँ’उनले भने। एसएसपी विष्टका अनुसार अहिले प्रहरीलाई काम गर्न विगतको तुलनामा निकै सजिलो छ । ‘अहिले प्रहरीलाई कुनै राजनीतिक दबाब छैन । कुनै नेताले अपराधी छुटाउन फोन गर्दैनन् । हामीलाई ‘स्वतन्त्र भएर काम गर्नुहोस्’ भनिएको छ । अपराधीहरूभन्दा प्रहरी कयौँ गुणा बढी शक्तिशाली छ, त्यसैले कसैलाई छोडिने छैन’, उनले भने।
प्रहरीले अहिलेको अवस्थालाई शान्त रहेको बताए पनि भुइँतहमा अपराधीहरूको सञ्जाल र जेलभित्रैबाट चल्ने आदेशले सर्वसाधारणमा भने संशय कायम छ । दाबी गरेझैँ नयाँ अभ्यास र स्वतन्त्र कार्यशैलीले यी सङ्गठित अपराधीहरूलाई पूर्ण रूपमा निर्मूल पार्ने प्रहरीको योजना छ।


