बाजुराः बाजुराको जगनाथ गाउँपालिका–६, लैफुडाँडाको भीरमा डोजर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोट जिल्लाको नरहरी नाथ गाउँपालिका–२, बस्ने वर्ष १८ का महेश रावल छन्। आइतबार बिहान बाजुराको जगन्नाथ गाउँपालिका–६, लैफुडाँडास्थित कर्णाली कोरिडोर सडकको भीरबाट डोजर दुर्घटना हुँदा रावलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले, कर्णाली प्रदेश ३–०१–००३ क. ६३११ नम्बरको डोजर अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल भिरमा खसेपछि रावलको मृत्यु भएको जानकारी दिए।
उनले भने, “ डोजरमा तीन जना रहेका थिए। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–२ का २५ वर्षीय केशव विष्ट सोही गाउँका १८ वर्षीय खगेन्द्र विष्ट र मृतक १८ का महेश रावल रहेका थिए। डोजरका चालक केवश विष्ट र सहचालक खगेन्द्र विष्ट भने बिहानै सकुशल फेला परेका थिए।” दुर्घटनाग्रस्त डोजर कालिकोट जिल्लाको पलातागाउँपालिका–७ निवासी कल बमको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी शाहीले बताए।


